सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मौलिक पर्व गौराः महोत्सवदेखि डेउडा प्रतियोतिासम्मको तयारी

फाइल फोटो
फाइल फोटो
२०८१ भदौ ४, ०२:४० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा मनाउन घर फर्कनेको संख्या बढ्न थालेको छ।

कामको खोजीमा भारतका विभिन्न सहर पसेकाहरु गौरापर्व मनाउन स्वदेश फर्कन थालेका छन्। मंगलबार विहान मात्र कैलालीको गौरीफन्टा नाकाबाट एक दर्जनभन्दा बढी व्यक्ति स्वदेश फर्किएका छन्। तीमध्ये अधिकांश गौरपर्वका लागि घर आइपुगेका हुन्। भारतको नयाँ दिल्लीमा काम गर्दै आएका कैलालीको गोदावरी नगरपालिका–१२ का किसन भाट श्रीमती र छोराछोरीसहित गौरापर्व मनाउन घर आइपुगेका छन्।

उनले सुदूरपश्चिमको महान चाड गौरा मनाउन केहीदिनका लागि घर आएको बताए। उनीजस्तै यतिबेला गौरा मनाउन घर फर्कनेको संख्या सीमा नाकाहरुमा बढ्न थालेको छ। सोमबार मात्र कञ्चनपुरको गड्डाचौकी नाका भएर एक सय २५, बैतडीको झुलाघाट नाकाबाट १६, खकरुलाबाट ५२ गरेर २ सय तीन जना स्वदेश फर्केका छन्।

त्यस्तै आइतबार गड्चौकी नाका भएर एक सय एक, झुलाघाट नाकाबाट १४, गौरीफन्टा नाकाबाट २५०, पुलघाट नाका दार्चुलाबाट १२ र खकरुलाबाट ५४ गरेर चार सय ३३ जना सुदूरपश्चिम आइपुगेका छन्। तीमध्ये अधिकांश गौरा मनाउन घर आइपुगेका हुन्। सुदूरपश्चिममा यतिबेला गाउँघरदेखि सहरबजारसम्म गौरा पर्वको तयारी सुरु भइसकेको छ। प्रदेशका विभिन्न स्थानमा गौरा महोत्सवको समेत आयोजना गरिने भएको छ।

मौलिक पर्व गौराको अवसरमा गाउँसहर देउडा र स्थानीय लोकभाकाले गुन्जायमान बनाउने गरी धनगढी, अत्तरिया, डडेल्धुरा, कञ्चनपुर लगायत विभिन्न स्थानमा गौरा महोत्सव नै आयोजना गरिने लागेको हो। परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरीको प्रतिमालाई शिरमा राखेर नचाउँदै गौरा भित्र्याउने परम्परा छ। पाँचवटा अन्न मिसाइने बिरुडालाई भगवानको प्रसादका रूपमा ग्रहण गर्ने चलन छ।

सप्तमीका दिन गौरालाई विधिवत रूपमा गौराघरमा भित्र्याएसँगै देउडा, चैत, धमारीलगायत सांस्कारिक गीत गाउँदै खेलेर रमाइलो गर्ने चलन सुदूरपश्चिममा रहिआएको छ। अष्टमीमा दुर्वाष्टमीको पूजा गरेपछि गौरामा पूजाको अंग वा व्रत समापन हुन्छ। परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरीको प्रतिमालाई शिरमा राखेर नचाउँदै गौरा भित्र्याउने परम्परा छ।

यो पर्वमा महिलाहरू पतिको दीर्घायु र परिवारको सुखशान्तिका लागि व्रत बसेर भगवान गौरी र महेश्वर शिव र पार्वतीको पूजा आराधना गर्ने गरेका छन्। अटल शौभाग्य, सन्तान प्राप्ति, सुख र समृद्धिको कामना गर्दै व्रत बसेर गौरी र महेश्वरको पूजा गर्ने चलन छ। गौरा जीवनलाई प्रकृतिसँग जोड्ने र प्रकृति र जीवनबीचको सम्बन्धलाई उजागर गर्ने पर्व भएको संस्कृतिविद् पदमराज जोशीले बताएका छन्।

गौरालाई प्रकृति र महेश्वरलाई ब्रह्माण्डको प्रतीकका रूपमा पूजा गर्ने चलन रहेको उनले बताएका हुन्। गौराका अवसरमा खेलिने देउडा, चैत, धमारीलगायत लोकसंस्कृतिमा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक प्रसंगको विषयवस्तु उल्लेख हुने गरेको छ। मौलिक पर्वको रूपमा रहेको गौरा कर्णाली प्रदेशका केही जिल्ला र भारतको उत्तराखण्ड, कुमाउ प्रदेशमा पनि मनाउने चलन छ।
धनगढीमा गौरा महोत्सव हुँदै
कैलालीको धनगढीमा गौरा महोत्सव आयोजना गरिँदैछ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सवको आयोजना गरिन लागेको हो। धनगढी उपमहानगरपालिका–१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ। गौरा पर्वको महत्व झल्किने गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने तयारी छ।

साथै यस बर्षबाट डेउडा समुदायलाई मात्रै केन्द्रित नगरेर विद्यालयस्तरीय डेउडा प्रतियोगिता पनि समावेश गरिनेछ। डेउडा प्रतियोगितामा डेउडीयालाई समेत सम्मान गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए। डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७ हजार ७ सय ७७, तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वनावाफत ३ हजार ३ सय ३३ नगदसहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले बताए।

कमेन्ट लोड गर्नुस