सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्वन्ध बढाउन ड्राइपोर्टसँगै अध्यागमन कार्यालय खुल्दै

२०८१ भदौ ३, ०६:३६ खबर संवाददाता

धनगढीः चीन र भारतसँग सुदूरपश्चिम प्रदेशको व्यापारिक सम्वन्ध बढाउन सडक, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको छ।

दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्। जिल्लाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोज्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुगाएको गृहमन्त्री लेखकले बताएका हुन्।

चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउन सरकारले काम गरिरहेको उनले बताए। चीन र भारतलाई जोड्न सडक निर्माण, सुक्खा बन्दरगाह (ड्राइपोर्ट) र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको उनको दाबी छ।

महाकाली करिडोर र सेती लोकमार्ग तलगायतका महत्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्ने योजना छ। दुई महिनाभित्र तिंकरमा अध्यागमनको कार्यालय स्थापना गर्ने र तिंकरबाटै नेपाली र विदेशीहरूलाई सहजतापूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने कार्यक्रम अघि सारेको उनको भनाई छ।

सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृहमन्त्री लेखकले बताए। भारत संसारकै उदयीमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनको भनाई छ।

सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको लेखको दाबी छ। त्यस्तै कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए। बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमबाट भारतसँगको व्यापारिक सम्बन्ध स्थापना हुने गृहमन्त्री लेखकको भनाई छ।

कमेन्ट लोड गर्नुस