सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

२०८१ भदौ ३, ०९:३३ खबर संवाददाता

काठमाडौं: परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।

राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग आज दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका छन्। उनको यो भ्रमण नेपाल–भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रालयले जनाएको छ। मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन्। राणा भदौ ६ मा स्वदेश फर्कनेछिन्।

कमेन्ट लोड गर्नुस