सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई हप्तादेखि मोहनापुल–अत्तरिया ६ लेन सडकको काम ठप्प

२०७६ जेठ २९, ०७:२५ जनक विष्ट

विभिन्न कारण देखाउँदै सुरुदेखि नै निर्माणमा ढिलाई हुदै आएको मोहनापुल अत्तरिया ६ लेन सडकको निर्माण कार्य फेरी ठप्प भएको छ। स्थानीयको आन्दोलनपछि निर्माणलाई तिव्रता दिने दावी गरेका निर्माण व्यवसायी काममा नफर्किएपछि झण्डै दुई हप्तादेखि फेरी ६ लेन सडक निर्माणको काम ठप्प भएको छ। वर्खा सुरु हुन केही समय मात्र बाँकी रहेका बेला निर्माणलाई तिव्रता दिनुपर्ने भएपनि सडकमा कामदार र उपकरण भेटाउन समेत मुस्किल भएको छ।

तर सडक निर्माणमा सुरु देखि नै लापरवाही गर्ने योजना कार्यालय र निर्माण व्यवसायीका सामू अन्य सरोकारवाला निकाय समेत निरिह बन्दा स्थानीयले खेप्दै आएको सास्ती उस्तै रहेको छ।  ६ लेन सडक योजना कार्यालय र निर्माण व्यवसायीले स्थानीयसंग निर्माणलाई तिव्रता दिने आश्वासन बाडेपनि फिल्डमा फर्केका छैनन् भने उनीहरुको लापरवाही र ढिलासुस्तीका सामू स्थानीय सरकार, प्रदेश सरकार लगायतका सरोकारवाला निकाय मुक दर्शक भएको आरोप स्थानीयले लगाएका छन्।

धनगढीका स्थानीय मदन भट्टले निर्माण व्यवसायी र सडक योजना कार्यालयलाई निर्माणलाई तिव्रता दिन पटक–पटक ताकेता गरिएपनि वेवास्ता गरिएको बताए। भट्टले योजना कार्यालयले आफूहरुलाई पत्राचार गर्न सक्ने अधिकार मात्र भएको भन्दै पन्छीने गरेको आरोप लगाए भने प्रदेश र संघिय सरकार समेत नीरिह बनेको उनको भनाई छ। 
६ लेन सडक निर्माणमा विभिन्न कारण देखाउँदै सुरु देखि नै लापरवाही गरिदै आएको छ। मोहना पुल देखि अत्तरिया सम्मको साढे १४ किलोमिटर सडकमा एकै पटक काम सुरु गरेर छोडिदिदा आवातजावतमा सास्ती हुदै आएको छ भने सडकमा उड्ने धुलोले आसपासका स्थानीय र व्यवसायीहरु समेत हैरान भएका छन्।

एकै पटक धेरै योजनामा हात हालेका निर्माण व्यवसायीहरुसंग सीमित स्रोत साधन र जनशक्ति भएका कारण समस्या हुदै आएको बताईदै आएको छ। तर वर्खा लाग्ने बेला पनि ६ लेन सडकको काम ठप्प राखेर उनीहरु अन्य योजनामा केन्द्रीत हुँदा काम थप पछाडी धकेलिएको छ। दुई वर्षमा ४० प्रतिशत मात्रै भौतिक प्रगती भएको सडक योजनाको निर्माण ठप्प पार्नुको कारण बारे बुझ्न खोज्दा निर्माण व्यवसायीहरु भने सम्पर्क आउनु चाहेनन् भने सडक योजना कार्यालयले उल्टै निर्माण व्यवसायीकै पक्ष लिइरहेको छ।  
६ लेन सडक योजना कार्यालयका प्रमुख होम बहादुर एसीले निर्माण व्यवसायीहरु निर्माण समाग्री संकलनमा केन्द्रीत भएका कारण काम रोकिएको दावी गरे। उनले जेठ ३२ पछि नदीजन्य वस्तु उत्खनन् गर्न नपाईने हुँदा व्यवसायी संकलन गरिरहेको बताउँदै बर्खामा पनि काम गर्न सजिलो हुने जिकिरे गरेका छन्। सडक निर्माणका लागि सुरुमा दिईएको दुई वर्षको समय यहि जेठ ९ मा सकिएपछि निर्माण व्यवसायीले थप डेढ वर्षको समय माग गरेका छन्।

६ लेन सडक निर्माणका लागि माग गरेको आधारमा म्याद थप हुने विश्वास लिएर निर्माण व्यवसायीहरुले कामलाई पछाडी धकेलिरहेको आरोप लागेको छ भने यो मौकाको सदुपयोग गरी अन्य योजनालाई प्राथमिकतामा राखेको बताईएको छ। तर ६ लेन सडक योजना कार्यालयले भने खरिद नियमावली संशोधन भएका कारण एक वर्ष भन्दा बढि समय नथपिने  सडक .योजना कार्यालयका प्रमुख एसीले बताए। 

तर काममा भइरहेको ढिलासुस्तीका विषयमा भने सडक योजना कार्यालय, स्थानीय सरकार र प्रदेश सरकारदेखि लिएर अन्य सरोकारवाला निकाय मौन रहेका छन्। निर्माण व्यवसायीहरुले झण्डै साढे १४ किलोमिटरको सडक निर्माण गर्दा सवै क्षेत्रमा एकै पटक कल्भर्ट निर्माण, नाली निर्माण, माटो भरान लगायतका काम सुरु गरी त्यतिकै छोडिदिदा सडक क्षेत्र अस्पव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम झन बढिरहेको छ।
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस