सुदूरपश्चिममा तीन वर्षमा ४४ बालिका यौन दुराचारको सिकार
धनगढीः जिल्ला प्रहरी कार्यालय, कैलालीमा २०८१ श्रावण ९ गते आठ वर्षीया बालिकालाई यौन दुराचार गरेको उजुरी पर्यो। उजुरीका आधारमा धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय रविन्द्र श्रेष्ठलाई सोही दिन प्रहरीले पक्राउ ग¥यो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिकालाई श्रेष्ठले प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको थाहा पाएपछि बालिकाको बुबाले उजुरी दिएका थिए।
कैलालीको जस्तै बझाङमा पनि गत असार ३० गते सात वर्षीया र आठ वर्षीया बालिकालाई यौन दुराचार गरिएको घटना बाहिरीयो। यी दुई बालबालिकालाई यौन दुराचार गरेको आरोपमा ३० गते नै कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका ५३ वर्षीय बस चालक धनबहादुर रोकायालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख भरत शाहले बताए।
यस्तै १३ वर्षीया बालिकालाई बाल यौन दुराचार गरेको कसुरमा घोडाघोडी नगरपालिका–७ करैचाका २१ वर्षीय अजय चौधरीलाई २०८० माघ ९ गते एक वर्ष कैद सजायको फैसला भएको छ। कैललाी जिल्ला अदालतका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी एक वर्ष कैद सजाय, २५ हजार जरिवाना, ३० हजार क्षतिपूर्ति र एक हजार रुपियाँ पीडित राहत शुल्क भराउने फैसला गरेको जिल्ला अदालत कैलालीले जनाएको छ। पीडित बालिकालाई २०८० जेठ १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १५ गते इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएका थिए।
सुदूरपश्चिममा घटेका बाल यौन दुराचारका यी तीन प्रतिनिधि घटना मात्र हुन्। सुदूरपश्चिम प्रदेश भरी तीन वर्षमा ४४ बाल यौन दुराचारका घटना प्रहरीमा दर्ता भएका छन्। प्रदेशमा तीन वर्षमा ४४ बालिका बाल यौन दुराचारको सिकार भएको भन्दै प्रहरीमा उजुरी परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १२ बालबालिकामाथि यौन दुराचारका घटना भएका छन्। डोटी, दार्चुला, डडेल्धुरा, कञ्चनपुरमा एक र कैलालीमा ८ मुद्दा दर्ता भएका हुन्। यस्तै आर्थिक वर्ष २०७९/०८० मा यो सङ्ख्या बढेर १८ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। उक्त आर्थिक वर्षमा अछाम, बझाङ र डोटीमा एक, कैलालीमा ८, कञ्चनपुरमा ४ र डडेल्धुरामा ३ मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा १४ वटा घटना भएका छन्।
यस आर्थिक वर्षमा पनि कैलालीमा ८, कञ्चनपुरमा ५ र डडेल्धुरामा १ घटना भएको छ। प्रहरीको तथ्यांकले यस्ता घटनामा वृद्धि भएको देखिएको छ। यस्ता घटनाहरु विभिन्न कारणले सार्वजनिक नहुने गरेको प्रहरीको अनुभव छ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न, गराउन नहुने र कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ। निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ। बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था गरिएको छ।