सुदूर नेपाललाई विश्वसँग जोड्दै

खगेन्द्र सुनार प्रहरीको नियन्त्रणमा, रिहाइ गर्न माग

२०८१ साउन ३०, १०:११

धनगढी : बित्थडचिर प्रवासी दलित एकता समाज भारतले दलितका लागि दलित अभियानका संयोजक तथा दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बित्थडचिर प्रवासी दलित एकता समाज केन्द्रीय समिति भारत का अध्यक्ष शेर सिंह बिकले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

काठमाडौँको माइतीघर मण्डलमा एक सातादेखि धर्नामा बसिरहेका दलित अभियन्ता सुनारलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो। फलामको साङ्लो बाँधेर प्रतीकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले बानेश्वरबाट नियन्त्रण लिएको थियो।

‘दलितका लागि दलित अभियान नेपालका संयोजक तथा दलित अधिकारकर्मी खगेन्द्र सुनारले विगत केही दिनदेखि शान्तिपूर्ण रूपमा धर्ना बसिरहेको सन्दर्भमा आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भनी प्रहरीद्वारा नियन्त्रणमा लिएको घटनाप्रति यस बित्थडचिर प्रवासी दलित एकता समाज केन्द्रीय समिति भारतको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण धर्ना बसेको संवैधानिक तथा कानुनी हक कार्यान्वयनको माग गरिरहेका खगेन्द्र सुनारलाई तत्काल रिहा गरी निजले उठान गरेका दलित समुदायका हकहितसम्बन्धी कानुनबमोजिमका माग अविलम्ब सम्बोधन गर्न नेपाल सरकार समक्ष अपिल गर्दछौं।’

सरकार निर्माण तथा राजनीति नियुक्तिमा दलित समुदायलाई बेवास्ता गरेको भन्दै सुनारले बुधवारदेखि माइतीघरमा धर्ना दिँदै आएका थिए। ‘दलितलाई खै?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। १४ प्रतिशत जनसङ्ख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामूलक समाज स्थापना नहुने सुनारको भनाइ छ। वित्थड चिर प्रवासी दलित समाज केन्द्रीय समिति भारतका प्रवक्ता सुशील ओखेडाले जानकारी दिनुभएको छ।

 

कमेन्ट लोड गर्नुस