धनगढीमा आमा–छोरीकै लोभलाग्दो उद्यम, विदेशबाट आउँछ लुगाको अर्डर
फेसन डिजाइनिङमा जमेकी कोपिला
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–८ बुद्धचोकमा बुटिक सञ्चालन गरेर आमा राजकुमारी चौधरी र छोरी कोपिला चौधरीले तयारी पोसाक विदेश पठाउने गरेका छन्।
२१ वर्षअघि तालिम लिएर सिलाइ सेन्टर खोलेकी राजकुमारी चौधरीले अहिले बुटिक समेत खोलेकी छन्। छोरी कोपिला चौधरीलाई फेसन डिजाइनिङ अध्ययन गराएर आमा र छोरी मिलेर सिलाइ सेन्टर र बुटिक सँगसँगै चलाएका छन्। आमाकै पेशालाई थप उचाइ प्रदान गर्न छोरी कोपिलाले कृषि विज्ञान पढ्नुको सट्टा फेसन डिजाइनिङ रोजिन।
जसका कारण एक सिलाइ मेसिनबाट सुरू भएको राजकुमारीको पेशागत यात्रा १० जनालाई प्रत्यक्ष रोजगारी दिँदै सयौंलाई तालिम दिन सक्ने भएको छ। आमा छोरीले बुटिक सञ्चालन गरेपछि नेपालका विभिन्न सहरदेखि जापान, कोरिया, बेलायत र क्यानाडाबाट समेत लुगाको अर्डर आउने गरेको छ।
आमाको व्यवसाय थप परिस्कृत गर्दै छोरी
धनगढी उपमहानगरपालिका–७ कि राजकुमारी चौधरीले २०६० सालमा क्याम्पस चोकमा सिलाई सेन्टर खोलेकी थिइन। २१ वर्षअघि एउटा सिलाइ मसिनबाट सुरू भएको राजकुमारीको व्यावसायिक यात्रा अहिले छोरी समेत जोडिएकी छन्। २१ वर्षअघि मुक्त कमैयाले पाउने तालिम अन्तर्गत भक्तपुरको नेपाल चर्खा स्मारक गुठीबाट राजकुमारीले सिलाइकटाई सम्बन्धी दुई वर्षे तालिम लिएकी थिइन।
कैलालीबाट तालिम लिने ९ जना महिलामध्ये राजकुमारीले तालिम दिने संस्थाले दिएको सिलाइ मसिनबाट कोपिला सिलाइ सेन्टर खोलेर व्यवसाय सुरू गरेकी हुन्। एक मसिनबाट सुरू भएको सिलाइ व्यवसायमा अहिले राजकुमारीकी छोरी कोपिला चौधरी समेत जोडिएकी छन्। फेसन डिजाइनिङ अध्ययन गरेरै छोरीले समेत आमाले गरिरहेको पेशालाई थप परिस्कृत गरिरहेकी हुन्।
आमाले गरिरहेको व्यावसायमा भविष्य देखेर फेसन डिजाइनिङ पढेको कोपिलाले बताइन्। ‘आमाले २०६० सालमा आमाले तालिम दिने संस्थाले दिएको मसिनबाट क्याम्पस चोकमा कोपिला सिलाइ सेन्टर खोल्नुभएको हो। आमासहित कैलालीका ९ जना महिलालाई नेपाल चर्खा प्रचारक गुठी भक्तपुरले दुई वर्षे तालिम दिएको हो’, कोपिलाले भनिन्।
बुटिक र अध्यापनको कामसँगसँगै
कक्षा १२ सम्म कृषि विज्ञान विषय अध्ययन गरेकी कोपिलाले आमाले गरेकै पेशामा भविष्य देखेर फेसन डिजाइनिङ पढेकी हुन्। उनले उत्तर प्रदेशको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयबाट फेसन डिजाइनिङमा स्नातक पूरा गरेकी छन्। आमाको व्यवसायलाई थप परिस्कृत गरेर अगाडि बढाउने सोचले फेसन डिजाइनिङ अध्ययन गरेको उनले बताइन्।
स्नातक अध्ययन सकेर फर्केपछि कोपिला सिलाइसँगै अर्को सटर भाडामा लिएर आमा छोरीले कोपिला बुटिक सञ्चालनमा ल्याएका हुन्। अहिले उनीहरूले १० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने बुटिक सम्बन्धी एक सय जनालाई तीन महिनाको आधारभूत तालिम दिएका छन्।
तालिम लिनेमध्ये पाँच जना कोपिला बुटिकमै कार्यरत छन् भने १५ जनाले आफ्नै बुटिक चलाएका छन्। तीन जना स्नातक अध्ययन गर्न गएका छन् भने अन्यले कालिगडको रुपमा विभिन्न ठाउँका सिलाइ सेन्टरहरूमा काम गरिरहेका छन्। बुटिक सञ्चालनसँगै कोपिला अध्यापनमा समेत संलग्न छिन्। उनी अत्तरियाको होलिल्याण्ड माध्यमिक विद्यालयमा फेसन डिजाइनिङ पढाउँछिन्। स्नातक तह पूरा गरेर धनगढी आउने बित्तिकै कतै जागीर खोज्न भौतारिनु नपरेको कोपिला बताउँछिन। उनलाई घरमै आएर विद्यालयका प्रधानाध्यापक पढाउन बोलाएका थिए।
‘मैले स्नातक तह पूरा गरेपछि कामको लागि अन्त कतै भौतारिनु परेन। एक सटरमा भएको सिलाइ सेन्टरलाई बढाएर थप अर्को सटर भाडामा लिएर बुटिक चलाउन सुरू गरे’, उनले भनिन्, ‘अत्तरियामा रहेको होलिल्याण्ड माध्यमिक विद्यालयमा फेसन डिजाइनिङको पढाई हुने रहेछ। त्यहाँको प्रिन्सिपल म्याम यतै आएर जब अफर गर्नुभएको हो। अहिले बिहान स्कुलमा पढाउँछु भने बाँकी समय बुटिकलाई दिन्छु।’
व्यवसाय विस्तार गर्न सामाजिक सन्जाल बन्यो सहयोगी
सिलाई तथा बुटिक व्यवसायबाट आर्थिक अवस्था सुधार हुनुको साथै पहिचान र सम्मान समेत बढेको बुझाइ कोपिलाको छ। फेसबुक तथा टिकटक मार्फत आफ्नो सिप तथा व्यवसायको प्रचारप्रसार गर्न सजिलो भएको तथा नेपालका विभिन्न सहरदेखि आधा दर्जन अन्य देशबाट बुटिकमा तयार हुने पोसाकको माग आउने गरेको छ।
कोपिला बुटिकमा तयार भएको पोसाक भारत, जापान, अमेरिका, कोरिया, अस्ट्रेलिया, मलेसिया बेलायत र क्यानाडा समेत पठाउने गरेको कोपिला बताउँछिन्। उनले टिकटकले आफ्नो व्यवसायको प्रचारप्रसार गर्न ठूलो सहयोग पुगेको बताएकी छन्। नेपालमा हाल टिकटक प्रतिबन्ध भए पनि कोपिलाको टिकटक पछ्याउनेको संख्या २ लाखभन्दा बढी छ।
स्नातकोत्तर गर्न बेलायत जाँदै
आमाको व्यवसायलाई थप उचाई दिन फेसन डिजाइनिङमा भारतबाट स्नातक गरेकी कोपिलाको थप अध्ययन गर्ने योजना छ। औपचारिक डिग्रीले पेशा व्यवसायसँगै शैक्षिक क्षेत्रमा समेत काम गर्न अवसर मिल्ने भएकाले अझै पढ्ने उनले बताइन्। उच्च अधययनका लागि उनले बेलायत जाने योजना बनाएकी छन्। बेलायतमा थप अध्ययन गरेर धनगढी नै फर्केर बुटिक व्यवसायलाई नै निरन्तरता दिने उनको योजना छ।