एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल
धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा चक्रबहादुर मल्ललाई चयन गरिएको छ। मङ्गलवार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा मल्ललाई चयन गरेको हो।
मल्ल डोटीको प्रदेश सभा (१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए। यस्तै बैठकले सचेतकमा प्रदेश सभा सदस्य जानकी ऐर बमलाई चयन गरेको छ। बम बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् भने सचेतक रहेकी निर्मलादेवी साउँद पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्।
प्रमुख सचेतक र सचेतकको जिम्मेवारीमा रहेका दुवै जना सरकारमा सहभागी भएपछि जिम्मेवारी हेरफेर गरिएको हो।