सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरीपछि अवरुद्ध विद्युत सुचारु गर्न स्थानीयबाट रकम असुलिदै

२०७६ जेठ २९, ०२:५८ खबर संवाददाता

धनगढीमा नेपाल विद्युत प्राधिकरण र निर्माण व्यवसायीले स्थानीयबाट रकम असुलिरहेको आरोप लागेको छ। प्राधिकरण र निर्माण व्यवसायीका कर्मचारीले रकम असुलेर मात्र हावाहुरी पछि अवरुद्ध भएको विद्युत लाईन मर्मत सम्भार गरिरहेको आरोप लागेको हो। उनीहरुले विद्युत सेवा अवरुद्ध भएको स्थानमा प्रति परिवार न्यनुतम दुई सयदेखि पाँच सयका दरले रकम असुलिरहेको स्थानीयले बताएका छन्।

धनगढीको चटकपुर, उत्तरबेहडी, सन्तोशि टोल, हसनपुर लगायतका क्षेत्रमा प्राधिकरण र निर्माण व्यवसायीका कर्मचारीले चिया खर्च भन्दै प्रति परिवारबाट न्युनतम दुई देखि पाँच सय सम्म रकम उठाएको नाम उल्लेख नगर्ने शर्तमा एकजना स्थानीयले बताए। रकम नदिएमा कर्मचारीहरु विद्युत लाईन मर्मत र विस्तारका लागि नआउने हुँदा रकम दिन बाध्य भएको स्थानीयले बताएका छन्।

रकम उठाउनमा स्थानीय तहका जनप्रतिनिधीहरु पनि सक्रिय रहेको दावी गरिएको छ। यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले भने कर्मचारीले विद्युत लाईन मर्मत सम्भारको नाममा रकम असुलेको पुष्टि भए कारवाहीको दायरामा ल्याउने बताए। उनले विद्युत लाईन मर्मत तथा विस्तारको खर्च प्राधिकरणले नै व्यहोर्ने भएकाले कसैले रकम मागेमा प्राधिकरणमा खबर गर्न समेत आग्रह गरेका छन्।

जिल्ला विपद व्यवस्थापन उप–समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पनि विद्युत लाईन मर्मत सम्भारको नाममा रकम असुलेको कुरा प्रमाण सहित पुष्टि भएमा त्यस्तो कर्मचारीलाई कानुनी कारवाहीको दायरामा ल्याईने बताए। बीहिबारको हावाहुरीका कारण धनगढीमा पोलहरु ढलेपछि अवरुद्ध भएको विद्युत सेवा पूर्ण रुपमा अझै सुचारु भएको छैन्।    
 

कमेन्ट लोड गर्नुस