सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा २८ दिनमा विपदबाट १२९ परिवार प्रभावित, तीन जनाको मृत्यु

२०८१ साउन २९, ०९:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा प्राकृतिक विपदबाट २८ दिनको अवधिमा १२९ परिवार प्रभावित बनेका छन्।

आगलागीका ६ घटनाबाट ७ परिवार प्रभावित भएका छन भने सर्पदंशबाट दुई जनाको मृत्यु नै भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–३ तल्लो शिर्षका ६० वर्षीय कमलसिंह साउँदको सर्पले डसेर मृत्यु भएको छ। उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुगाउँदा उनको मृत्यु भएको हो।

यस्तै कैलालीको गोदावरी नगरपालिका–१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो। सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले उनलाई डसेको थियो। लगत्तै मालीलाई धनगढीको नोभा अस्पतालमा पुगाइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ।

त्यस्तै चट्याङबाट १० महिला घाइते भएका छन भने यसबाट १३ परिवार प्रभावित बन्न पुगेका छन्। बाढीबाट एक महिलाको मृत्यु हुनुका साथै २३ परिवार प्रभावित बन्न पुगेका छन्। जनावर आंतकबाट ४, पहिरोबाट ५९ र भारी वर्षाबाट १९ परिवार प्रभावित बनेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस