चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
भरतपुरः चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका– ५ पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्। काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० जना घाइते भएका हुन।
घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ।
प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिको– २ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका– २ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ।