कञ्चनपुरमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ।
बाह्य क्षेत्रमा चर्को शुल्क तिरेर गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउनका लागि अल्ट्रासाउन्ड गराउनुपर्ने झन्झट हट्दै गएको छ। नगरपालिकाले गर्भवतीलाई चार वर्षअघिदेखि निरन्तर स्वास्थ्य चौकीमै निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आएको छ।
२०७७ देखि पिपलाडी, झलारी र पीताम्बर गरी तीन स्वास्थ्य चौकीहरुबाट अल्ट्रासाउन्ड सेवा प्रदान गरिँदै आएकोमा हाल सेवा विस्तार गरी आठ स्वास्थ्य संस्थामा पुर्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। उनका अनुसार सेवा सञ्चालनका लागि तीन नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिमसँगै पुनः ताजगी तालिम दिई दक्ष बनाइएको छ। प्रत्येक महिनाको १२ देखि १९ गतेसम्म स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ।
अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रसम्म पुर्याएर मातृ शिशुको मृत्यु दरलाई शून्यमा झार्न मद्दत पुगेको शाखा प्रमुख भट्टको भनाइ रहेको छ।‘गर्भमा रहेको शिशुको अवस्थाबारे अल्ट्रासाउन्डका माध्यमबाट सहजै पत्ता लाग्ने गर्दछ, उनले भने ‘जोखिमा रहेको गर्भबारे गर्भवती आमासँगै अभिभावकलाई समयमै जानकारी गराइने भएकाले आमा र शिशुको ज्यान जोगउन सकिन्छ।
विगतमा गर्भमा रहेको शिशुको अवस्था पत्ता नलाग्दा आमा र शिशुको ज्यान जाने गरेको थियो, अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवती आमालाई निकै सहयोग पुर्याएको छ। अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, गर्भको हप्ता, शिशुको वृद्धि विकास, प्लासेन्टको पोजिसन कस्तो छ त्यो हेर्न सकिने सिअनमी प्रतिमा न्यौपानेले बताए।
अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रदेखि सुगमका बजार क्षेत्रसम्मका गर्भवतीसम्म पुगेकाले महिलाले यही सेवाका लागि बाह्य क्षेत्रमा खर्चनुपर्ने ठूलो धनराशि जोगिएको उनले बताए। ‘
अल्ट्रासाउन्ड सेवा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा निः शल्क उपलब्ध हुन थालेपछि गर्भवतीले बाह्य क्षेत्रमा खर्चनुपर्ने रकम जोगिएको उनको भनाइ छ।
‘पालो कुर्नुपर्ने अवस्था पनि छैन, यातायातका साधन खाज्दै हिँड्नु पनि परेको छैन, घरदैलोमै सेवा पाइँदा निकै सहज भएको छ उनले भने। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत वर्षको असार मसान्तसम्म २० वर्षमुनिका ३३, बीस वर्षमाथिका एक हजार ९७ र उन्नाइसजना जटिल प्रकृतिका गर्भवतीले अल्ट्रासाउन्ड सेवा लिएका छन्।
अल्ट्रासाउन्ड सेवा निकै प्रभावकारी देखिएकाले स्वास्थ्य शाखाले नगरपालिकाका १२ वटै वडामा सेवा पुर्याउने लक्ष्य राखेको छ। त्यसका लागि शाखाले सुदूरपश्चिम प्रदेश विशेष अनुदान कार्यक्रमअन्तर्गत थप तीन अल्ट्रासाउन्ड मेसिनसँगै औजार, उपकरण खरिद गर्ने योजना बनाएको छ। त्यसका लागि नगर सभामा प्रस्ताव गरिएको ५१ लाखको बजेट स्वीकृत भए सेवालाई अझै प्रभावकारी बनाउन सकिने बताइएको छ। अल्ट्रासाउन्ड सेवाका लागि हाल एक मात्रै मेसिन उपलब्ध छ। सोही मेसिन सेवा सञ्चालन गरिएका स्वास्थ्य संस्थामा लगेर सेवा दिनुपर्ने अवस्था छ।