सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले वर्सादका लागि राख्यो एक हजार टिपर ग्राभेल ‘स्टक’

२०८१ साउन २७, ०९:२० नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा स्थानीयले गर्ने मागका आधारमा सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम हुँदै आएको छ।

उपमहानगरपालिकाले बर्सादका लागि समेत एक हजार टिपर ग्राभेल स्टक राखेको छ। असार १ गतेदेखि भदौ मसान्तसम्म नदी तथा खोलाबाट ग्राभेल उठाउन नपाउने भएकाले उपमहानगरले जेठमै तीन महिनाका लागि ग्राभेल मौज्दात राखेको हो। अहिले पनि नगरभित्र सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम भइरहेको छ।

स्थानीयको माग तथा गुनासोको आधारमा सडकका खाल्टाखुल्टी पुर्ने काम भइरहेको उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए। ‘यो वर्ष बर्सादमा पर्ने खाल्टाखुल्टी पुर्न उपमहानगरपालिकाले एक हजार टिपर ग्राभेल मौज्दात राखेको छ।

बर्सादमा नगर क्षेत्रमा गाडी चल्ने सडकमा खाल्टाखुल्टी पुर्न मौज्दात राखेको ग्राभेल ल्याएर सडक सुधार गर्ने काम भइरहेको छ’, इन्जिनियर भट्टले भने। सडकमा खाल्टाखुल्टी परेको खण्डमा स्थानीयले उपनगरपालिकाको कार्यालयमा आएर ग्राभेलका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस्तै, उपमहानगरपालिका नआएरै पनि ग्राभेलको आवश्यकता परेको स्थानको फोटो, भिडियो र सडकको अवस्थाको विषयमा जानकारी दिँदा समेत ग्राभेल हाल्ने काम हुने इन्जिनियर भट्टले बताए। ‘नगरवासीले गुनासो गर्ने वित्तिकै ग्राभेल हाल्ने काम भइरहेको छ।

पानी परेको समयमा ग्राभेल हाल्न समस्या हुने भएकाले पानी रोकिएपछि स्थानीयले दिएको सूचनाको आधारमा आवश्यकताको पहिचान गरेर ग्राभेल हाल्ने गरिएको छ’, डिभिजनल इन्जिनियर भट्टले भने। उपमहानगरपालिकाले पक्की सडक र ग्राभेल सडकमा खाल्टाखुल्टी परेको अवस्थामा तत्काल ग्राभेल गर्न सकिने जनाएको छ। खाल्टाखुल्टी परेको जानकारी ह्वाटसपमा समेत गर्न सकिने व्यवस्था मिलाइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस