सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षाः अध्यक्ष ढकाल

२०८१ साउन २६, ०४:०० खबर संवाददाता

धनगढीः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन्।

कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा शनिवार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताए। मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए।

केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ। यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो। कूल गार्हस्थ उत्पादनमा प्रदेशहरु मध्ये छैटौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए।

जलस्रोत पर्यटन मात्रै नभएर यहाँको जनशक्ति निक्कै मेहनती रहेको र युवाहरू विकासको सम्भाहक हुने उनको भनाइ थियो। जिल्लामा रहेका साना– मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए। कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिवद्धता जनाए।

कैलाली उद्योग वाणिज्य संघको पचासौं स्वर्णीम वर्ष तथा वार्षिक  साधारणसभामा केन्द्रीय अध्यक्ष ढकाल प्रमुख अतिथि थिए। कार्यक्रममा संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए।

May be an image of 2 people, flute, dais, temple and text

कमेन्ट लोड गर्नुस