डोटीको आदर्श र बझाङको केदारस्युमा गाई र कुकुरमा रेबिज पुष्टि
धनगढीः डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ श्रीमाल गाउँमा गाईमा रेबिज पुष्टि भएको छ।
रेबिज जस्तो लक्षण देखिएर मरेको गाईमा परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भएको हो। मृत गाईको सोही पालिकाको पशु सेवा शाखाका प्राविधिकहरुबाट मस्तिष्ककको नमुना संकलन गरी शुक्रवार परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।
केही दिन अगाडि सोही गाउँमा एक भैंसी मरेको र त्यसपछि उस्तै लक्षण देखिएर गाई मरेपछि गाउँपालिकाको पशु शाखाका कर्मचारीले नमुना संकलन गरी परीक्षणका लागि धनगढी पठाएका हुन्। गाउँमा रेबिज आउटब्रेक भएकाले पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट रेबिज विरुद्धको खोप लगेर गाउँका सबै चौपायामा खोप लगाइने प्रयोगशाला प्रमुख डाक्टर जोशीले बताए।
पशु सेवा शाखाका कर्मचारीले गाउँमा चौपायालाई खोप लगाउने छन्। यस्तै, बिहीवार मात्रै बझाङको केदारस्यु गाउँपालिकामा पनि कुकुरमा रेबिज पुष्टि भएको छ। मरेको कुकुरको मस्तिष्कको नमुना परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर जोशीले बताए।