सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ओलानीमा पानीको हाहाकार : खानेपानी योजनाको काम कछुवा गतिमा

२०७६ जेठ २९, ०६:५६ जनक विष्ट

 कैलालीको ओलानी क्षेत्रका नागरिक वर्षेनी खानेपानीको अभाव खेप्दै आएपनि निर्माणाधिन योजनाको काम भने कछुवा गतिमा रहेको पाईएको छ। ओलानी क्षेत्रका नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्ने भन्दै चुनावी नारा बाड्दै आएकाहरु नेताहरु सत्तामा पुगेपछि आवश्यक पहल नगर्दा वषौँदेखि निर्माणाधिन अवस्थामा रहेको खानेपानी योजनाको काम कछुवा गतिमा रहेको छ।

नेकपाका नेता तथा पूर्वमन्त्री लेखराज भट्ट र प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको निर्वाचन क्षेत्रमै पर्ने ओलानीका नागरिकलाई खानेपानी वितरण गर्ने उद्देश्यले चार वर्ष अघि सुरु भएको योजनाको काम सुस्त गतिमा चलिरहेको छ। ६ करोड लागत अनुमान गरिएको गोदावरी २ ३ खानेपानी योजनामा चार वर्षदेखि एक दुई लाख बजेट विनीयोजन गरी कामलाई पछाडी धकेल्ने काम भइरहेको छ भने रोटरी क्लव र डिभिजन खानेपानी कार्यालय कैलालीले निर्माण गरिरहेको गोदावरी खानेपानी योजनाको कामले पनि तिव्रता पाउन सकेको छैन्। 

डिप ट्युवेलको पानीको उपभोग गर्दै आएका ओलानी क्षेत्रका नागरिक बीहिबार आएको हावाहुरीपछि विद्युत सेवा अवरुद्ध हुदा चौतर्फी समस्या परेका छन्। विकल्पमा हाते पप्प समेत नभएपछि गोदावरी नगरपालिकाको ओलानीमा पर्ने वडा नम्बर १० का केही बस्ती , ११ र १२ का स्थानीय खानेपानीको अभावमा दैनिक कटाइरहेका छन्।  तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीले  चार वर्ष अघि निर्माण सुरु गरेको गोदावरी २ ,३ खानेपानी योजनाको काम निकै सुस्त गतिमा रहेको छ।

६ करोड लागत अनुमान गरिएको उक्त योजनामा वर्षेनी एक दुई लाख बजेट छुट्याएर काम गर्ने गरिएको छ। जसका कारण एक÷दुई वर्षमै निर्माण हुने खानेपानी योजना वर्षौँ पछाडी धकेलिएको छ। खनेपानी तथा सरसफाई डिभिजन कार्यालयका  इन्जिनीयर गणेश उपाध्यायले योजना संख्या धेरै र बजेट कम विनीयोजन गरिदा निर्माणलाई तिव्रता दिन नसकिएको बताए। 

आर्थिक वर्ष २०७२–७३ देखि निर्माण सुरु भएको उक्त खानेपानी योजनाबाट ओलानी क्षेत्रका सयौँ परिवार लाभान्वित हुने विश्वास गरिएपनि निर्माणमा भइरहेको ढिलाइले स्थानीयको सहज रुपमा खानेपानी उपभोग आशा आशामै सीमित भएको छ। बजेट अभावको कारण देखाउदै खानेपानी योजनामा वर्षेनी न्युन बजेट छुट्याईदै आएको छ। ६ करोड लागत अनुमान गरिएको उक्त योजनामा गत आर्थिक वर्ष सम्म एक करोड ८१ लख खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा संघिय सरकारले ४५ लाख बजेट मात्रे विनीयोजन गरेको थियो।  

नेपाल सरकारको ८० प्रतिशत र स्थानीय उपभोक्ताको २० प्रतिशत लगानी रहेको उक्त खानेपानी योजनामा वर्षेनी न्युन बजेट विनीयोजन हुदै आएपछि समस्या भएको छ। यस्तै ओलानी क्षेत्रमै डिभिजन खानेपानी कार्यालय र रोटरी क्लवले निर्माण गरिरहेको खानेपानी योजनाको काम पनि सुस्त गतिमा भइरहेको छ। २०४६÷५७ सालमा कोलमुडा खोलाबाट ओलानीमा सञ्चालन गरिएको खानेपानी योजना पहिरोका कारण विस्थापीत भएपछि २०६५÷६६ मा मछेली खोलाबाट ल्याईएको योजना पनि पहिरोकै कारण विस्थापीत भएको थियो ।

त्यसपछि सोही खानेपानी योजनालाई पुनः सञ्चालन गर्न रोटरी क्लव र डिभिजन खानेपानी कार्यालयले निर्माण कार्य भइरहेको डिभिजन खानेपानी कार्यालयका इन्जिनीयर उपाध्यायले जनाए।  स्थानीयले यी दुवै खानेपानी योजनाको निर्माण सम्पन्न भएमा खानेपानी सुविधा पाउने आशा गरेपनि निर्माण कार्यले भने तिव्रता पाउन सकेको छैन्।

पर्याप्त बजेट समेत विनीयोजन हुन सकेको छैन्। सोही क्षेत्रमा राष्ट्रिय राजनीतिमा स्थापित भएका पूर्वमन्त्री तथा नेकपाका नेता लेखराज भट्ट र अहिलेका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले खानेपानी योजना निर्माणमा तिव्रता दिन आवश्यक पहल नगरेको आरोप स्थानीयको रहेको छ।

तर प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने संघिय सरकारले कार्यान्वयन गरिरहेको उक्त खानेपानी योजनामा प्रदेशबाट पनि बजेट विनीयोजन गरी अगामी वर्ष स्थानीयलाई पानी वितरण गर्ने दावी गरेका छन्।  ओलानी क्षेत्रका स्थानीय गर्मीको समयमा ट्युवेलको पानी कम हुने तथा सुक्ने गरेका कारण गत विगतका वर्षमा पनि अभाव खेप्दै आएका छन् भने यसपाली त  विद्युत सेवा अवरुद्ध भएपछि चौतर्फी समस्यामा परेका छन्। तर सोही क्षेत्रबाट स्थापीत भएका नेताहरुले भने आफूहरुको समस्या नदेखेझै गरेको स्थानीयको आरोप रहेको छ। 

कैलालीको ओलानीमा खानेपानीको हाहाकार : पुर्वमन्त्री भट्ट र मन्त्री सुवेदीले वास्ता नगरेको आरोप
  
 

 
 
 

   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस