बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि
बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले भोलि शपथ ग्रहण गर्ने भएका छन्।
बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषदले भोलि शपथ लिने बताएका छन्। बुधवार अपराह्न पत्रकार सम्मेलन गर्दै उनले सम्भवतः भोलि बेलुकी ८ बजे सपथ ग्रहण हुने बताएको बंगलादेशको अखबार द डेली स्टारले लेखेको छ।
उनले सल्लाहकार परिषद् सम्भवतः १५ सदस्यीय हुने भनेका छन्। सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बंगलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन्। यो अवधिमा अपराधमा संलग्नहरुलाई नछाडिने र कारबाही हुने समेत उनले बताएका छन्। उनले आफूसँगै वायु र जल सेनाका प्रमुखले पनि काम गरिरहेको बताएका छन्।
विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमवर प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी थिइन्। त्यसपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिएका थिए। त्यसपछि आन्दोलनरत विद्यार्थीहरुको माग अनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुँदैछ।