सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल भोलीदेखि सुचारु हुने

२०७६ जेठ २८, ०४:३९ खबर संवाददाता

एक महिना लामो समयदेखि बन्द रहेको धनगढी विमानस्थल भोलीबाट सुचारु हुने भएको छ। गत बैशाख २२ गतेदेखि सुरु भएको धावनमार्ग मर्मत र स्तर बृद्धिको काम सकिएपछि विमानस्थलमा भोलीदेखि नियमित उडान सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ।

धनगढीका विमानस्थलका प्रमुख तेज बहादुर बुढथापाले धावनमार्ग मर्मत र स्तर बृद्धिको काम सकिएकाले भोली (बुधबार) बाट नियमित उडान सञ्चालन हुने जानकारी दिए। बुढथापाले कार्यालयको तर्फबाट उडान सुचारु गर्न धावनमार्ग तयारी अवस्थामा रहेकोले एयरलाईन्स कम्पनीहरुले आ–आफ्नो समय तालिका अनुसार उडान भर्ने बताए। धावनमार्ग मर्मत सम्भार र स्तरवृद्धिको काम सकिएपछि विमान कम्पनीहरुले पनि उडान भर्ने तयारी गरेका छन्। बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले भोलीदेखि उडान भर्ने जानकारी दिए। यसअघि बैशाख २२ गतेदेखि विमानस्थल बन्द भएपनि जेठ १९ गतेदेखि मात्रै धावनमार्ग कालोपत्रेको काम सुरु भएको थियो।

जमिनको वनावटका कारण काम बढी गर्नुपरेको र एक महिना सम्म पनि धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले निर्धारित समय भित्रै स्तर बृद्धिको कार्य सम्पन्न हुन सकेको थिएन। तर अन्तीम पटक थप गरिएको एक हप्ताको समयमा भने काम पूर्ण भएको हो। विमानस्थलमा उडान सुरु भएपनि स्तर बृद्धिका कार्य भने जारी रहने बताईएको छ। धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्गमा थप कालोपत्रे हुँदै छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २-२ मिटर धावनमार्ग फराकिलो बनाउने कार्य पनि जारी छ। 

कमेन्ट लोड गर्नुस