सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीले एक वर्षमा समात्यो ६ करोड ३७ लाख मूल्यको अबैध सामान

२०८१ साउन २२, ०२:४४ खबर संवाददाता

धनगढीः २०८१ जेठमा सशस्त्र प्रहरीले कञ्चनपुरमा तीन सय ६१ बोरा अबैध गहुँ नियन्त्रणमा लियो।

सशस्त्र प्रहरीले गहुँसँगै ठूलो परिणाममा भन्सार छलीको सामान समेत नियन्त्रणमा लिएको थियो। जिल्लाको बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार मुल्यको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो। त्यसमा ३६१ बोरा गहुँ, एक सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारीले बताएको छ।

कञ्चनपुरमा सशस्त्र प्रहरीले मात्र नभए नेपाल प्रहरीले समेत ठूलो परिणाममा अबैध सामान जफत गरेको छ। जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर आयात गरिएका सामान धमाधम जफत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए। कञ्चनपुर प्रहरीले गत आर्थिक वर्षमा ठूलो परिमाणका अबैध सामान बरामद गरेको छ।

६ करोड ३७ लाख ८५ हजार ५१९ रुपैयाँबराबरको अवैध सामान बरामद गरेर भन्सार चलान गरेको प्रवक्ता जोशीले बताए। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई करोड २४ लाख चार हजार ४२३ र त्यसभन्दा अघिल्लो वर्ष २०७८/७९ मा एक करोड १७ लाख ५४ हजार २८० रुपैयाँ बराबरको सामान बरामद गरिएको थियो।

फागुनयता मात्रै दुई करोड ८६ लाख ४३ हजार ८२ रुपैयाँबराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुर भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा २० प्रतिशत भन्सार राजस्व वृद्धि गरेको छ। गत आर्थिक वर्षमा कञ्चनपुर प्रहरीको नेतृत्व एसपी कमल थापा र चक्रराज जोशीले सम्मालेका थिए।

गत फागुनदेखि जोशी हालसम्म कार्यरत छन्। विगतका वर्षहरूमा तस्कर समूहले प्रहरीसँग सेटिङ गरेर अबैध सामान भित्र्याउने गरेको भए पनि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, गत वर्षका एसपी कमल थापाको कार्यकालदेखि वर्तमान एसपी चक्रराज जोशीले अबैध सामान आयातमा कडाई गरेपछि तस्कर समूह तितरवितर बनेका छन्।

कमेन्ट लोड गर्नुस