सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा, विद्यार्थीहरुले अर्थशास्त्री युनुसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरे

२०८१ साउन २२, ०२:१२

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए।

सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे। उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन्।

आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन्। उनीहरुले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन्।

विद्यार्थीहरुले प्रस्ताव गरेका युनुस पनि सरकारको मुख्य सल्लाहकारका रुपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन्। सुरुमा आफू तयार नभएको भन्दै उनले भनेका छन्, ‘किनकी मैलै गर्नुपर्ने काम धेरै छ।’

बंगलादेश बाहिर (फ्रान्समा) रहेका ८४ वर्षका उनले भने, ‘विद्यार्थीहरुले धेरै त्याग गरेका छन्, देशका नागरिकहरुले पनि त्याग गरेका छन्। मेरो पनि केही दायित्व हुन्छ। त्यसपछि मैले विद्यार्थीहरुलाई यो जिम्मेवारीका लागि तयार छु भनेको हुँ उनले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताए।
 

कमेन्ट लोड गर्नुस