देशभर पानीजन्य रोगको सङ्क्रमण बढ्दै, ३० जनामा हैजा पुष्टि
काठमाडौंः देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो। गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन्। डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ।
कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन्। काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन्। त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ।
देशभर ३० जनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको हो। हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन।