सुदूरपश्चिममा १९ महिनामै सत्ता ‘उथलपुथल’, बन्यो चौथो सरकार
धनगढीः सुदूरपश्चिममा १९ महिनाको अवधिमा सत्ता ‘उथलपुथल’ नै भएको छ।
प्रदेश सरकार ढाल्ने र बनाउने खेल यो विचमा चलिनै रह्यो। प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएदेखि नै यस्तो खेल चल्न थालेको थियो। सुरुमा एमाले नेतृत्वको प्रदेश सरकार गठन भए पनि त्यो सरकार महिनादिनभित्रै ढल्यो। त्यसपछि कांग्रेसको नेतृत्वको अर्को सरकार बन्यो। कांग्रेस नेतृत्वको सरकार पनि १४ महिनाभन्दा बढी टिक्न सकेन्। त्यसपछि एकीकृत समाजवादीको नेतृत्वमा बनेको सरकार त झन चार महिना पनि टिक्न सकेन्।
अहिले पुनः कांग्रेस नेतृत्वकै सरकार गठन भएको छ। वर्तमान गठबन्धन कति समय टिक्छ त्यो भने अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन्। चौथो सरकार बन्दै गर्दा यो बिचमा कुल प्रदेश सभा सदस्यमध्ये आधाभन्दा बढी त मन्त्री नै भइसकेका छन्। तर जनताले भने छिनछिनमा भइरहेको सत्ता ढाल्ने र बनाउने खेलबाट लाभभन्दा नोक्सानी बढी भएको अनुभुति गरेका छन्।
अहिले चौथो सरकार बनिसकेको छ। तर चालु आर्थिक वर्षको बजेट पास नहुँदा प्रदेश सरकारको राजस्व संकलनको काम पूर्ण रुपमा ठप्प छ। दैनिक ४० लाख रुपैयाँ राजस्व गुम्दै गएको छ। यो विषयमा गम्भीर रुपमा प्रदेश सभा सदस्यले चिन्ता लिएको देखिदैन्।
प्रदेशसभाको एउटै कार्यकालमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बनेका छन्। उनले सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। यसपटक अघिल्ला सरकारमा जस्तो भागबन्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भएन।
सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्तिबिच सत्ता साझेदारी भएको छ। साझेदार दलहरूमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा कांग्रेसले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र दुई राज्यमन्त्री, एमालेले ३ मन्त्रालय र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्तिले १ मन्त्रालय लिएका छन्। आर्थिक मामिला कांग्रेस र भौतिक पूर्वाधार मन्त्रालय एमालेले लिएका छन्।
कांग्रेसबाट आर्थिक मामिला मन्त्रीमा बहादुरसिंह थापा, सामाजिक विकासमन्त्रीमा मेघराज खड्का नियुक्त भएका छन् भने प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री बनेका छन्। एमालेबाट सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हीरा सार्की नियुक्त भएका छन्।
निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन्। नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। एमालेले समर्थन फिर्ता लिएको ३० दिनपछि एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन भएको हो।
प्रदेशसभाको दोस्रो कार्यकालमा २०७९ पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको गठबन्धनमा एमाले नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा पहिलो सरकार गठन भएको थियो। नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि रावलको नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकी एक महिनामै ढलेको थियो। प्रदेशसभाको ठूलो दलको हैसियतले २०७९ माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
केन्द्रमा एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि २०८० चैत २२ गते शाहले पदबाट राजीनामा दिएका थिए। त्यसपछि एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। केन्द्रमा कांग्रेस–एमालेको नयाँ सत्ता समीकरण बनेपछि अल्पमतमा परेपछि उनले गत शुक्रबार राजीनामा दिएका थिए। आइतबार प्रदेशमा चौथो सरकारको नेतृत्वमा कांग्रेसकै शाहको पुनरागमन भएको छ।