दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त कमल शाहको यस्तो छ राजनीतिक यात्रा
धनगढीः नेपाली कांग्रेसका कमलबहादुर शाह आइबार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने आधार नदेखिपछि पदबाट राजीनामा दिएका थिए। २०२८ साल माघ १० गते अछामको रामारोशनस्थित टरीगैरामा जन्मेका शाह बुबाको जागिरसँगै तराई झरेका थिए। उनका बुबा मंगलबहादुर शाह नेपाल प्रहरीका सेवा निवृत्त कर्मचारी हुन्।
उनकी आमा चन्द्रादेवी शाह र श्रीमती निर्मला कँडेल शाह हुन्। टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढेका शाहले व्यवस्थापन विषय (कमर्स) मा स्नातक गरेका छन्। २०४४ सालमा नेबिसंघ हुदै राजनीतिमा प्रवेश गरेका हुन। क्याम्पस इकाई सदस्यबाट राजनीतिमा आएका उनी २०४६ सालदेखि ५२ सालसम्म तरूण दलको खेलकुद विभागमा केन्द्रीय सदस्य भए।
२०७० सालको दोस्रो संविधान सभा चुनावमा कैलाली–२ बाट उम्मेदवार बनेका उनी त्यसबेला पराजित भए। २०७९ को प्रदेश सभा निर्वाचनमा उनले मुख्य प्रतिस्पर्धी एमाले छाडेर नागरिक उन्मुक्तिबाट चुनाव लडेका रतन थापालाई हराएर चुनाव जितेका हुन्। उनले १० हजार ४३३ मत पाएका थिए। चुनावपछि कांग्रेसका १९ जना प्रदेश सांसदहरूमध्ये सात जना संसदीय दलको नेता बन्न भनेर मनोनयन दर्ता भएको थियो। जसमा सबैलाई मिलाएर सहमतिमा शाह दलको नेता चयन भएका थिए।
दोस्रो पटक मुख्यमन्त्री
आइतबारको नियुक्तिसँगै शाह दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए। एमालेको समर्थनमा शाहले दाबी पेस गरेका थिए। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको थियो।
यसबिचमा शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट गरि चार जना मुख्यमन्त्रीका आकांक्षी थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री अघि बढाउने निर्देशन गरेसँगै शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन्। शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए। गठबन्धन फेरबदल भएर समर्थक दलहरुले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए।