सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

२०८१ साउन २०, १०:३९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त गरिँदैछ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि आज नेपाली काँगेसबाट नयाँ मुख्यमन्त्री नियुक्त गरिन लागेको हो।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय तोकेका छन्। सुदूरपश्चिममा अबको मुख्यमन्त्री कांग्रेसले पाउने गरी केन्द्रबाटै भागबण्डा गरिएको छ। नयाँ मुख्यमन्त्री चयनका लागि ११ बजे नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। अहिले संसदीय दलको नेता प्रदेश सभा सदस्य कमलबहादुर शाह छन्।

उनी पूर्व मुख्यमन्त्री समेत हुन्। शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धनमा १४ महिना मुख्यमन्त्री भएका थिए। गठबन्धन फेरबदल भएर समर्थक दलहरूले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए।

सुदूरपश्चिममा मुख्यमन्त्री कांग्रेसले पाउने केन्द्रमा सहमति भएपछि मुख्यमन्त्रीको दौडमा शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट थिए। मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषय अहिले नै टुंगो लागि सकेको छैन्। ११ बजे संसदीय दलको बैठकपछि मात्र टुंगो लाग्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस