रास्वपाले आगामी असोजमा राष्ट्रिय भेला गर्ने
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो।
पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला आज सम्पन्न भएको छ। कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता लगायत छ विधामा छलफल भएको उनले बताए।
यस्तै, पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको छ। विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गरिने भएको छ।
पार्टीको जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरी जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको वाचापत्रलगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने निर्णय पनि कार्यशालाले गरेको छ