संघीय राज्यमन्त्रीमा नियुक्त चौधरी फरार रहेकै अवस्थामा बनेका थिए सांसद
धनगढीः संघीय राज्यमन्त्रीमा नियुक्त अरुण चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त चौधरी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्। कैलालीको गोरांगा खोलाबाट २०६६ भदौ ३ मा ढुंगा लिएर लम्की आउँदै गरेको लु २ त २११ नम्बरको ट्याक्टरमा आगजनी गरेको भन्ने उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेर २०६७ भदौ २ मा अरुणकुमार चौधरी, परशुराम चौधरी र वीरबहादुर चौधरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७० वैशाख ९ मा फैसला गर्दै ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो सजाय तोकेको थियो। त्यसपछि अरुणकुमार बिगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका थिए। फरार रहेकै अवस्थामा उनी २०७९ मा सांसद बनेपछि अरुणकुमारलाई प्रहरीले २०७९ माघ १८ मा बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो।
पक्राउ परेको भोलिपल्ट जिल्ला अदालत कैलालीले अरुणकुमारलाई पूर्ववत् फैसलाअनुसार ६ महिनाका लागि कारागार चलान गर्ने आदेश गरेको थियो। तर, एक महिना नबित्दै मन्त्रिपरिषद्को सिफारिसमा २०७९ फागुन ७ मा प्रजातन्त्र दिवसका अवसरमा उनले राष्ट्रपतिबाट सजाय मिनाहा पाएका थिए। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी फौजदारी कसुरमा दोषी ठहर भएका थिए।
उनीमाथि जिल्ला अदालत कैलालीबाट ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय गर्ने र ८ लाख १९ हजार रुपैंया भराउने फैसला नै भएको थियो। अरुणसहित ३ जना विरुद्ध मुद्दा चलेको थियो। तीनजना आरोपितहरु नै प्रहरीसमक्ष आत्मसमर्पण नगरी फरार भएका थिए। गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो।
ट्याक्टर धनी मोतिपुरका महादेव बजगाईको आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी बलिया गाविस–३ का पर्शुराम चौधरी, अरुण चौधरी र बीरबहादुर चौधरी विरुद्ध मुद्दा हालेका थिए। ८ लाख ७५ हजार रुपैंया क्षतिपुर्ति पाउनुपर्ने दाबी गरेका थिए। जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालिन मुलुकी ऐन बमोजिम मुद्दा परेको थियो। आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएका थिएनन्।
जिल्ला अदालतले ‘कसुर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गरेको थियो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसुर गरेको ठहर गरेको थियो। ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र बीरबहादुर चौधरीलाई ६/६ महिनाको दरले कैद सजाय भएको थियो। क्षति भएको ८ लाख १९ हजार रुपैंया तीन जनाबाट भराउने आदेश गरिएको थियो। फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए।