धनगढीको नेपाल वेष्टर्न एकेडेमी र युनिग्लोव कलेज काठमाडौंबीच सम्झौता

धनगढीः नेपाल वेष्टर्न एकेडेमी धनगढी र युनिग्लोव कलेज काठमाण्डौंबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ।
बिहिवार धनगढीमा नेपाल वेष्टर्न एकेडेमीका तर्फबाट प्रबन्धक निर्देशक शैलेसकुमार सिहं र युनिग्लोव कलेजका तर्फबाट अध्यक्ष डाक्टर नरबहादुर बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता भएसँगै युनिग्लोव कलेजसँग भएको जनशक्तिले नेपाल वेष्टर्न कलेजमा तालिम दिने, दुबै कलेजबीच अनुभव साटासाट, विद्यार्थी एक्सचेञ्ज कार्यक्रम गरिने भएको छ।
सम्झौतामा विद्यार्थीले एक कलेजबाट अर्को कलेजमा गएर ज्ञानसीप हासिल गर्न सक्ने, संयुक्त रुपमा रिसर्च र सेमिनार गर्ने, संस्कृतिका बारेमा एक अर्कासँग अनुभव साटासाट गर्ने तथा नेपाल वेष्टर्न कलेजबाट मास्टर डिग्री पढ्न युनिग्लोव कलेजमा जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने भएको छ।
नेपाल वेष्टर्न एकेडेमीबाट स्नातक गरेर युनिग्लोवमा स्नातकोत्तर पढ्न जाने विद्यार्थीलाई ४० प्रतिशत छात्रवृत्ति दिइने भएको छ। वेष्टर्न एकेडेमीका प्रबन्धक निर्देशक सिहंले यहाँको समग्र शैक्षिक विकासका लागि युनिग्लोव कलेजसँग सहकार्य गरिएको बताए। उनले शिक्षक,अभिभावक र विद्यार्थी तथा शैक्षिक क्षेत्रलाई अगाडि बढाउन सहकार्य गरेको बताए।
यस्तै, युनिग्लोव कलेजका अध्यक्ष डाक्टर बिष्टले सहकार्यपछि दुबै कलेजका विद्यार्थीले आफ्ना अनुभव साटासाट गर्न पाउनुका साथै ज्ञान र सिपमा वृद्धि हुने विश्वास रहेको बताए। यी दुबै कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हुन्। विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गरेको र प्राविधिक ज्ञान दिएर स्नातक र स्नातकोत्तरको अध्ययनपछि रोजगार तथा स्वरोजगार हुन सकिने डाक्टर बिष्टले बताए।



