सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको केरलामा पहिरोः ८ जनाको मृत्यु, सयौं मानिस पुरिएको आशंका

२०८१ साउन १५, ११:०२

नयाँ दिल्लीः भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

पहिरोमा सयौं मानिस पुरिएको आशंका गरिएको समाचार भारतीय सञ्चारमाध्यममा रहेको छ। वायनाड जिल्लाको मेप्पडी, मुन्डक्काई टाउन र चुरल मालामा मंगलबार बिहान पहिरो गएको थियो। स्थानीय सञ्चारमाध्यमहरुले भने पहिरोमा परेर १२ जनाको मृत्यु भएको जनाएको छ। आधिकारिक रूपमा भने एक बालकसहित आठ जनाको मृत्यु भएको पुष्टि भएको जनाइएको छ।

पहिरोमा परी घाइते भएका ५० जनालाई अस्पताल भर्ना गरिएको छ। भीषण वर्षाका क्रममा बिहान करिब १ बजे मुण्डक्काई टाउनमा पहिलो पहिरो गएको हो। मुण्डक्काईमा उद्धार कार्य जारी नै रहँदा बिहान ४ बजे चुरलमालास्थित विद्यालय नजिकै दोस्रो पहिरो खसेको एबीपी समाचारमा उल्लेख छ।

पहिरोका कारण शिविरका रुपमा सञ्चालित विद्यालय र आसपासका घर र पसलमा पानी र हिलो भरिएको छ। अहिले उद्धार कार्य जारी छ। सयौं मानिस भग्नावशेषमुनि पुरिएका आशंका
केरला राज्य प्रकोप व्यवस्थापन प्राधिकरण केएसडीएमएले पहिरो प्रभावित क्षेत्रमा दमकल विभाग र एनडीआरएफको टोली खटाइएको जनाएको छ।

केएसडीएमएले कन्नूर डिफेन्स सेक्युरिटी कोरको दुई टोलीलाई उद्धार कार्यमा मद्दत गर्न वायनाड पठाइएको बताएको छ। पहिरोमा सयौं मानिस पुरिएको प्रभावित क्षेत्रका बासिन्दाले जानकारी दिएका छन। लगातारको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। मौसम विभागले केरलामा वर्षाको चेतावनी जारी गरेको छ।
 

कमेन्ट लोड गर्नुस