कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
मंगलबार विहान जिल्लाको भीमदत्त नगरपालिका–३ भासीमा ट्याक्टरले ठक्कर दिँदा भीमदत्त नगरपालिका–६ सुकासालकी ३५ वर्षीया पार्वती भट्टको मृत्यु भएको हो। पूर्वपश्चिम महेन्द्र राजमार्गको उक्त सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलसहित बाटो पार गरिरहेकी पार्वती घाइते भएकी थिएन।
उनको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याक्टर चालक भीमदत्त नगरपालिका–३ तिलकपुरका ३८ वर्षीय समीरकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।