कैलारीका अधिकांश किसान सांसदका स्वकीय सचिव र शिक्षकबाटै ठगिए
धनगढीः कैलालीको कैलारी गाउँपालिकामा पावर टिलरको नाममा किसान ठगिएका छन्। ७५ प्रतिशत अनुदानमा पावर टिलर दिने भन्दै किसानहरूलाई ठग्ने काम भएको छ।
किसानबाट २५ प्रतिशत अनुदान उठाएर पावर टिलर दिने भनिए पनि रकम भने ५० प्रतिशतभन्दा बढी संकलन गरेको पाइएको छ। किसानबाट ५० प्रतिशतभन्दा बढी रकम उठाए पनि पावर टिलर भने केही किसानलाई मात्रै दिइएको छ। अधिकांश किसानले पैसा तिरे पनि पावर टिलर पाएका छैनन्। किसानलाई अनुदानमा पावर टिलर दिने भन्दै रकम उठाउन प्रदेश सभा सदस्यका स्वकीय सचिवदेखि शिक्षकसम्मै संलग्न रहेको पाइएको छ।
सांसदका स्वकीय सचिव नै संलग्न
किसानबाट २५ प्रतिशत रकम संकलन गरेर पावर टिलर दिने भनिएकोमा ५० प्रतिशतभन्दा बढी रकम असुल गरिएको छ। यो प्रकरणमा रकम उठाउन प्रदेश सभा सांसदका स्वकीय सचिवदेखि स्थानीय जनप्रतिनिधी र शिक्षकसम्मै संलग्न रहेको पाइएको हो। सुरो नेपाल नामक संस्थाले किसानको २५ प्रतिशत र संस्थाको ७५ प्रतिशत लगानीमा पावर टिलर वितरण गर्न रकम संकलन गरेको थियो।
तर किसानबाट ५० प्रतिशत बढी रकम असुल गरिएको पाइएको छ। प्रदेश सभा सदस्य घनश्याम चौधरीका स्वकिय सचिव शंकर चौधरीले किसानलाई पावर टिलर वितरण गर्न रकम संकलन गर्न सहयोग गरेको स्वीकार गरेका छन्। उनले किसानबाट पावर टिलरको लागि एक लाख १७ हजारका दरले रकम संकलन गर्न सहजीकरण गरेका छन्।
शिक्षकहरू पनि संलग्न
पावर टिलर वितरणमा आर्थिक अनियमिता भएको विषय सार्वजनिक भएपछि पीडित किसानले जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत उजुरी दिएका थिए। यस्तै, गाउँपालिकाले किसानको रकम फिर्ता गर्न आह्वान गरेको थियो। पावर टिलरको लागि जनप्रतिनिधि र केही शिक्षकहरुले समेत किसानहरूबाट रकम संकलन गरेको पाइएको छ।
जनता माविका शिक्षक अजयकुमार चौधरीले ६ जना किसानबाट जनही एक लाखका दरले रकम संकलन गरेको बताएका छन्। उनले ५ जनाले पावर टिलर पाए पनि आफूले भने नपाएको बताए। ‘मैले आफ्नै गाउँले पाँच जनाबाट एक लाखका दरले रकम संकलन गरेको हुँ। रकम संकलन गरेर विनोद सरको खातामा जम्मा गरेको हुँ’, उनले भने, ‘हामीले पाँच पावर टिलर पाए पनि मैले पाएको छैन।’
कैलारीकै जानकी माविका शिक्षक विनोद चौधरीले ३५ जना किसानबाट एक लाखका दरले रकम संकलन गरेका छन्। शिक्षक विनोदले बाल सशक्तिकरण संस्थाका अध्यक्ष योगेश योगीको योजनामा रकम संकलन गरेको बताए। उनले किसानलाई पावर टिलर आवश्यक रहेको भन्दै रकम संकलन गर्न सहयोग गरेको बताए।
कैलारी गाउँपालिकामा पावर टिलर वितरणको नाममा आर्थिक चलखेल भएको छ। आर्थिक चलखेलमा सुरो नेपाल नामक संस्थादेखि स्थानीय सहकारी संस्थाहरूको संलग्नता देखिएको छ। किसानबाट रकम संकलन गर्न, जनप्रतिनिधि, राजनीति दलका स्थानीय नेता कार्यकर्ता र शिक्षकहरूको संलग्नता रहेको देखिएको छ।