टीकापुरमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न संयन्त्र निर्माण
कैलाली: जिल्लाको टीकापुर नगरपालिकाका हिंसापीडित महिला तथा बालबालिकाका लागि सेवाहरूको नक्साङ्कन र सिफारिस संयन्त्र निर्माण गरिएको छ।
संयन्त्रमा लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा टीकापुरमा काम गरिरहेका सङ्घसंस्था, देशव्यापी काम गरिरहेका संयन्त्र, प्रदेश तथा जिल्लाभित्रका सरकारी निकाय तथा सञ्जालहरूको विवरण तयार गरिएको हो। संयन्त्रमा हिंसामा परेका महिला तथा बालबालिकाको उपचार, परामर्श, न्यायिक पक्रियाका लागि सिफारिस गर्ने ठाउँको विवरण, सम्पर्क नम्बरलगायत कुरा समावेश गरिएका छन्।
टीकापुर नगरपालिकाले हिंसा न्यूनीकरणमा काम गरिरहेका सेवा प्रदायकको नक्साङ्कन गर्दा १४ सङ्घसंस्था रहेका महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाहले बताए। 'सेवा प्रदायकको सबै विवरणसहित नक्साङ्कन गर्दा काम गर्न सहज हुन्छ। हिंसापीडितलाई छिटो न्याय दिन सहज होस् भनी सङ्घसंस्थाको नक्साङ्कन र सिफारिस संयन्त्र निर्माण गरेका हौँ', उनले भने, 'संयन्त्र बनेकाले अब आउँदा दिनमा यहाँ काम गर्न चाहने सङ्घसंस्थालाई पनि सहज हुन्छ।'
पालिकालाई अब हिंसा न्यूनीकरण तथा न्यायिक क्षेत्रमा काम गर्न सङ्घसंस्था खोज्ने, व्यक्ति खोज्ने झन्झट अन्त्य हुनेछ। नगरपालिकामा सेवा प्रदायक सङ्घसंस्थाको नक्साङ्कन भएमा सेवा लिनेलाई र पालिकालाई पनि हिंसा न्यूनीकरणमा काम गर्न सहज हुने वडा नं ४ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लालवीर चौधरीले बताए।
‘लैङ्गिक हिंसा प्रभावितका लागि काम गर्न सहज हुन्छ। सेवा लिनेलाई कुन संस्थाले के सेवा दिन्छ भन्ने जानकारी हुन्छ’, उनले भने, ‘पालिकालाई पनि हिंसापीडित आएमा कहाँ प्रेषण गर्ने, कसरी सघाउने भन्ने थाहा हुन्छ।’
सुदूरपश्चिम प्रदेशका महिला बालबालिका शाखा प्रमुख जयन्ती गिरीले संयन्त्रमा सङ्घसंस्था तथा जिल्लाभित्रका सरकारी निकाय तथा सञ्जालको विवरण, खट्ने व्यक्तिको विवरण राखिने भएकाले हरेक वर्ष अद्यावधिक गर्नुपर्ने बताए। ‘लैङ्गिक हिंसा न्यूनीकरण समस्या बनिरहेको छ’, उनले भने, ‘यसलाई गम्भीर सोचेर काम गर्नुपर्छ। यसरी संयन्त्र बनाउँदा सरोकारवालालाई सक्रिय बनाउन सघाउँछ।'