सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्साहरुको यसरी गर्दैछ उपमहानगरले उचित व्यवस्थापन

फाइल फोटो
फाइल फोटो
२०८१ साउन १०, ०६:५३ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा अटो रिक्साहरुको उपमहानगरले उचित व्यवस्थापन गर्ने भएको छ।

विद्यूतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको उपमहानगरपालिकाले उचित व्यवस्थापन गर्न आवश्यक तयारी अघि बढाएको छ। उपमहानगर क्षेत्रभित्र चल्ने विद्युतीय रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तीन पाङ्ग्रे अटो रिक्साको रुट तथा संख्या निर्धारण गरिने भएको छ।

साथै उपमहानगरपालिकाले रिक्सा सञ्चालनको अनुमति पत्र नवीकरण, खारेजी र गुणस्तर समेत निर्धारण गर्ने भएको छ। विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन ऐनअनुसार भाडा दर निर्धारण नियमन र व्यवस्थापन गर्न उपमहानगरले काम थालेको छ।
रिक्सा परीक्षण गर्न सुरू
धनगढी उपमहानगरपालिकाले अटो रिक्सा व्यवस्थापन गर्दैछ। उपमहानगर क्षेत्रभित्र सञ्चालन हुने सम्पूर्ण अटो रिक्साको रुट निर्धारण, अनुमति पत्र नवीकरण तथा खारेजी, गुणस्तर र भाडा दर निर्धारण गरिने भएको छ। २०७९ पुस २५ मा नगर सभाबाट पारित भएको विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन र व्यवस्थापन सम्बन्धी ऐन, २०७९ अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरूको परीक्षण गर्न ३५ दिने सूचना समेत निकालिएको उपमहानगरको यातायात शाखा प्रमुख ओमप्रकाश बुढाले बताए।

उनले दैनिक २५ वटाका दरले रिक्साको परीक्षण बिहीवारदेखि सुरू भएको बताए। ‘हालसम्म धनगढी उपमहानगरपालिकामा दर्ता भएका ७२३ वटा अटो रिक्साको दैनिक २५ का दरले परीक्षण गरिनेछ,’ उनले भने, ‘साउन ९ गतेदेखि भदौ ११ गतेसम्म रिक्साहरुको अवस्थाको अध्ययन गरिनेछ।’
रुट र संख्या निर्धारण गरिँदै
धनगढीको आवश्यकता, ट्राफिक व्यवस्थापनमा सहजता, बजार व्यवस्थापनका साथै सवारी धनीहरुको हित प्रवद्र्धन गरी सवारी दुर्घटना न्यूनिकरण गर्न अटो रिक्सा व्यवस्थापन गर्न लागिएको छ। ऐनअनुसार धनगढीमा अटो रिक्सा चलाउन सञ्चालन अनुमति लिनुपर्ने छ। सञ्चालन अनुमतिबिना नगर क्षेत्रभित्र रिक्सा चलाउन पाइने छैन।

धनगढी नगर क्षेत्रमा अन्यत्र दर्ता भएका रिक्सा चलाउन पाइने छैन भने नगर क्षेत्रभित्र चल्ने रिक्साको संख्या समेत निर्धारण गरिने छ। यस्तै इजाजत मिलेको रूटमा बाहेक अन्यत्र अटो रिक्सा चलाउन नपाइने उपमहानगरपालिकाका कानून अधिकृत खडकसिंह कुञ्जेडाले बताए। ‘तीन पाङ्ग्रे अटो रिक्साहरू चल्ने रुट निर्धारण, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडादर निर्धारण र नियमन तथा व्यवस्थापन गर्ने काम सुरु भइसकेको छ।

यसका लागि कानून समेत बनिसकेको छ,’ कुन्जेडाले भने। धनगढी उपमहानगरपालिकामा दर्ता नभएका तथा सवारीचालक अनुमति नलिएको व्यक्तिले अटो रिक्सा चलाउन पाउने छैनन्। यस्तै, अटो रिक्सा धनीले प्रचलित कानून बमोजिम यात्रु तथा तेस्रो पक्ष बिमा अनिवार्य गर्नुपर्ने छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस