सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा देहत्याग भयावह, किशोरी जोगाउँनै मुश्किल

२०८१ साउन ७, ११:०९

वीरेन्द्र भट्ट, धनगढीः नेकपा एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष कृतबहादुर चन्दले देहत्याग गरे।

कैलालीको गोदावरी नगरपालिका–१ भरतपुरका ५४ वर्षीय चन्दले शुक्रबार देहत्याग गरेका हुन्। उनी कोठाभित्र मृत अवस्थामा फेला परेका थिए। पूर्व प्रहरी समेत रहेका चन्दले किन देहत्याग गर्न पुगे भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ। त्यस्तै बैतडीको मेलौली नगरपालिका–७ काँडाकी २१ वर्षीया सरस्वती भट्ट आइतबार मृत फेला परिन्। मेलौली प्रहरीका इन्चार्ज सई नरेश चन्दका अनुसार भट्ट आफ्नै घर नजिकैको मकैबारीमा मृत फेला परेकी हुन्।

मृतक भट्ट मणिलेक माविमा ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत थिइन्। शनिबार मात्रै सोही पालिकाको वडा नम्बर ५ मा खलिगाडमा विवाहित युवती लक्ष्मी पार्की पनि मृत फेला परेकी थिइन्। यी दुई घटनाको प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। २०८० फागुनमा डोटीको दीपायल–सिलगढी नगरपालिका–९ तल्लो कलेनाकी १९ वर्षीया जानकी साउँदले पनि यसैगरी देहत्याग गरेकी थिइन्। देहत्याग गर्नुको ठोस कारण भने खुलेको छैन्।

२०८० चैतमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महराले पनि देहत्याग गरिन्। रौलेश्वर मावि कफलकोटमा कक्षा ११ मा अध्ययनरत महराले किन देहत्याग गरिन् भन्ने विषय ठोस रुपमा अझै खुलेको छैन्। कैलाली बहुमुखी क्याम्पस धनगढीमा अध्यनरत कञ्चनपुर घर भएकी १९ वर्षीया आरती विष्टले पनि यसैगरी आफ्नो प्राण त्याग गरेकी थिइन्।

उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्यनरत थिइन्। त्यस्तै धनगढी उपमहानगरपालिका–६ जालीकी १६ वर्षीया स्वस्तिका थापाले पनि आफ्नो प्राण आफै त्याग्न पुगेकी थिएन्। उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत थिइन्।

यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यसरी आफ्नो प्राण आफै परित्याग गर्नेको संख्या सुदूरपश्चिममा बढ्दै गएको छ। पुरुषभन्दा किशोरी र युवतीले अकालमै ज्यान फाल्ने गरेका घटना दैनिक रुपमा सार्वजनिक हुने गरेको छ। विशेष गरी किशोरी जोगाउनै मुश्किल हुने गरेको कतिपय अभिभावको गुनासो समेत छ।
डर लाग्दो चित्रण
सुदूरपश्चिममा बर्सेनि देहत्याग गर्नेको संख्या बढ्दै गएको छ। मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशाका कारण आत्महत्या हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्ने गरेको छ। सुदूरपश्चिममा आर्थिक वर्ष २०७७/७८ मा ६८२, २०७६/७७ मा ५३९, २०७३/७४ मा ४३२, २०७५/७६ मा ४९० तथा २०७४/७५ मा ४९९ जनाले देहत्याग गरेको प्रहरी अभिलेख छ।

विभिन्न अध्ययनले देखाएअनुसार ६० देखि ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोगका कारण हुने गरेको छ। आत्महत्या बढ्नुमा व्यक्ति मानसिक रुपले विक्षिप्त हुनु नै प्रमुख रहेको प्रहरीको बुझाई छ। कतिपय आत्महत्या आवेशमा गरिएको देखिन्छ भने कतिपय नशा सेवन, अनैतिक सम्वन्ध र आर्थिक कारण लगायतले हुने गरेको पाइएको छ।

यसरी देहत्याग गर्नेमा २९ प्रतिशतभन्दा बढी २० देखि २९ वर्ष उमेर समुहका युवा छन्। प्रदेशभित्र सबैभन्दा बढी देहत्याग गर्नेमा कैलाली जिल्ला अग्रस्थानमा देखिएको छ। २०७५ देखि लागु भएको मुलुकी अपराधसंहिता परिच्छेद १२ मा ज्यानसम्बन्धी कसुरको दफा १८५ मा आत्महत्या गर्न बाध्य पारेको कसुरमा सजायको व्यवस्था गरिएको छ। सो दफाअनुसार कसैलाई आत्महत्या गर्न बाध्य पारेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
यस्तो छ मुख्य कारण
सुदूरपश्चिममा देहत्याग (आत्महत्या) गर्नेको संख्या भयावह रुपमा बढ्न थालेको छ। यसको मुख्य कारण मानसिक रोग र तनाव देखिएको छ। प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयले गरेको ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१’ ले आत्महत्या अत्यधिक बढ्नुमा मानसिक समस्यालाई प्रमुख कारण औँल्याउँदै सचेतना, मानसिक उपचार तथा मनोपरामर्शमा राज्यले ध्यान दिनुपर्ने सुझाएको छ।

अध्ययनले देहत्याग न्यूनीकरणका लागि एक व्यापक र एकीकृत अवधारणाको आवश्यकता औँल्याएको छ। अध्ययनका क्रममा आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० मा देहत्यागका घटनाको विश्लेषणका आधारमा मानसिक समस्यालाई प्रमुख कारण देखाइएको हो। सुदूरपश्चिममा दुई वर्षको अवधिमा दुई हजार ८३० जनाले देहत्याग गरेका छन्।

अध्ययनले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्यको प्रवद्र्धन, आत्महत्यासम्बन्धी भ्रमहरू हटाउने, जोखिम संकेतहरू समयमै पहिचान गर्ने, तनाव व्यवस्थापनका लागि तालिम दिनुपर्नेमा जोड दिएको छ। देहत्याग रोकथाम तथा न्यूनीकरणका लागि तत्काल एक व्यापक र एकीकृत अवधारणाको आवश्यकतालाई जोड दिएको छ। सांस्कृतिक रूपमा संवेदनशील र बहुआयामिक रणनीतिहरूमार्फत देहत्यागको घटना घटाउन उत्प्रेरित तत्वहरूको जटिल अन्तरक्रियालाई निवारण गरिएमा देहत्यागका घटनालाई कम गर्न सकिने अध्ययनको निष्कर्ष छ।

कमेन्ट लोड गर्नुस