सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रामीण क्षेत्रलाई सहरसँग जोड्न धनगढीमा ‘जिपिएस’ जडान बस सेवा सुरु हुँदै

२०८१ साउन ६, ०१:५६ नारायण अवस्थी

धनगढीः ग्रामीण क्षेत्रलाई सहरसँग जोड्न कैलालीको धनगढीमा ‘जिपिएस’ जडान नगर बस सेवा सुरु हुँदैछ। यसका लागि उपमहानगरपालिकाले सुविधासम्पन्न ६ वटा बस खरिद गरेको छ।

बस सञ्चालनका लागि बोलपत्र आह्वान समेत भइसकेको छ। पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी बसपार्कबाट धनगढी सहिद गेटसम्म नगर बस सेवा सञ्चालन गर्ने योजना बनाइएको छ। फूलबारी–धनगढी–सहिद गेट रुटमा नगर बस सेवा सफल भए उर्मा लगायतका ग्रामीण भेगमा समेत नगर बस सेवा विस्तार गरिने नगरप्रमुख गोपाल हमालले बताए।

‘पहिलो चरणमा फूलबारी बसपार्कदेखि धनगढी सहिद गेटसम्म नगर बस चलाउन बोलपत्र आह्वान गरेका छौँ। ग्रामीण भेगलाई सहरसँग जोड्न र ग्रामीण जीवनलाई चलायमान बनाउन नगर बस सेवा चलाउन खोजेका छौँ’, नगर प्रमुख हमालले भने, ‘ग्रामीण क्षेत्रबाट विद्यालय, कलेज, अस्पताल र बजार आउन सहज होस् र गाउँमा उत्पादित बस्तु बजार ल्याउन सहज होस् भनेर नगर बस चलाउन खोजिएको हो।’

विद्यालय र कलेज पढ्न आउने विद्यार्थीहरूले घरबाटै पढ्न आउन सहज होस् भनेर नगर बस चलाइन लागेको हो। यस्तै, गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रबाट नगर बस सेवा चलाउने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख हमालले बताए।
बसमा सिसिटिभी क्यामेरा र जिपिएस जडान
उपमहानगरपालिकाले खरिद गरेका ६ वटै नगर बसमा सिसिटिभी र जिपिएस जडान गरिएको छ। यात्रु र तिनले बोक्ने सामानको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ। यस्तै, बस आएको घरबाटै थाहा पाउन र चढ्ने स्थानमा ठिक समयमा पुग्न सहज होस् भनेर जिपिएस प्रणाली जडान गरिएको नगरप्रमुख हमालले बताए। सम्भावित आगलागीबाट बच्न हरेक बसमा अग्नि नियन्त्रण यन्त्र राखिएको छ भने चालकलाई बस रोकाउन घण्टी बजाउन मिल्ने स्वीच राखिएको छ।
सांस्कृतिक पहिचान झल्कने पेन्टिङ
नगर बसलाई वातावरणमैत्री बनाउन हरियो रङको पेन्टिङ गरिएको छ। बसमा धार्मिक स्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ। बसमा सांस्कृतिक पहिरन, नृत्य, पर्व र स्थानीय जातजातिका भेषभूषा झल्किने गरी पेन्टिङ गरिएको नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले बताएकी छन्।
कैलारीदेखि अत्तरियासम्मै चलाउने योजना
नगरप्रमुख हमालले पहिलो चरणको बस सेवा सफल भए कैलालीको कैलारी गाउँपालिकादेखि गोदावरीको अत्तरियासम्म नगर बस चलाउने योजना रहेको बताए। उनले फूलबारी–धनगढी नगर बस सेवा सफल भए वडा नम्बर १६ को उर्मा लगायतका ग्रामीण क्षेत्रमा पनि विस्तार गरिने बताए। ग्रामीण भेगमा सस्तो, सहज र सर्वसुलभ यातायात सेवा प्रदान गर्न नगर बेस सेवा चलाउन लागेको उपमहानगरपालिकाले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस