सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

२०८१ साउन ५, ०७:५९ रासस

भरतपुर: चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो।

निकुञ्जले यो सङ्ख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो। त्यो तथ्यांकलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्। तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए। अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो।

यसैगरी, गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए। यस्तै, अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए।

यो तथ्यांकलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन्। सार्क मुलुकका पर्यटकको सङ्ख्या हाराहारी नै छ भने नेपालीको सङ्ख्या घटेको छ। निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ। तिवारीका गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख १८ हजार चार सय राजस्व संकलन भएको छ। अघिल्लो आवमा यो रकम रु २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० थियो।

आव २०७८÷७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व संकलन भएको थियो। यसैगरी, आव २०७७÷७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व संकलन भएको थियो। आव २०७६÷७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व संकलन भएको थियो।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१÷३२ देखि निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो। त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ। यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व संकलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२÷३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको दाबी गरिन्।

भ्रमण वर्षमा आउने पर्यटक मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उनले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने गरेको बताइन्। उनले भनिन्, ‘निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्नुमा भरतपुर भ्रमण वर्ष पनि हो।’ चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुंगी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

कमेन्ट लोड गर्नुस