सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शव चिस्यान सेवाले विदेश गएकालाई आफन्तको अन्त्येष्टिमा सहभागी हुन सहज

२०८१ साउन ३, ०७:०० नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका–१२ जुगेडा गुम्बा टोलका ६० वर्षीय बुद्धिराम गुरुङको असार ३० गते देहान्त भयो। मृतक गुरुङका छोरा जीवन रोजगारीका लागि दुबईमा थिए। उनी नआउन्जेल अन्तिम संस्कार गर्न पर्खनुपर्ने भयो।

दुबईबाट बुधवार उडेका जीवन बिहिवार बिहान ९ बजे काठमाडौँ उत्रिए। बिहिवार दिउँसो छोरा जीवन घर पुगेपछि पाँच दिनपछि मृतक बुद्धिरामको अन्त्येष्टि गरियो। बुद्धिरामको मृत शरीरले पाँच दिनसम्म विदेश कामको खोजीमा गएका छोरा पर्खियो।

उपमहानगरले शव चिस्यान यन्त्र सेवा प्रदान गर्नाले पाँच दिनसम्म मृतकको शव सुरक्षित राख्न सकिएको बौद्ध धर्मगुरु भिक्षु कमलले बताए। उनले असार ३० गतेदेखि साउन ३ गतेसम्म मृत शरीर सुरक्षित राख्न उपमहानगरपालिका फोन गर्ने बित्तिकै नगर प्रहरीले घरमै शव चिस्यान यन्त्र पुगाएर मृतकको शरीर सुरक्षित हुने गरी राखेर गएको बताए। ‘उपमहानगरपालिकाको शव चिस्यान सेवाले गर्दा आजसम्म शव सुरक्षित राख्न सकियो। चिस्यान यन्त्रले गर्दा पाँच दिनसम्म शव सुरक्षित राख्न सकियो,’ उनले भने, ‘मृतकका छोरा दुबईबाट आज बिहान काठमाडौँ पुगे आजै १ः३० फ्लाइटमा धनगढी र त्यसपछि अन्तेष्टी गरिएको छ।’

मृतका छोरा जीवन घर पुगेपछि बिहिवार नै बुद्धिरामको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। असार ३० गते खबर गर्ने बित्तिकै मृत शरीरलाई सुरक्षित राख्न उपमहानगरपालिकाले घरमै शव चिस्यान केन्द्र पुगाउँदा निकै ठुलो सहयोग पुगेको भिक्षु कमलले बताए। उनले उपमहानगरपालिकाको कारण विदेशमा सन्तान भएका सर्वसाधारणलाई ठुलो सहयोग पुगेको बताए। ‘यो काम उपमहानगर र मेयरसापको निकै राम्रो काम हो। धनीले अस्पताल या फ्रिजमा शव राख्न सक्छन् होला। तर, गरिबका लागि शव चिस्यान यन्त्रले ठुलो सहयोग गरेको छ,’ भिक्षु कमलले भने।

उपमहानगरपालिकाले तीन वटा शव चिस्यान यन्त्रबाट नगरवासीलाई निःशुल्क सेवा दिँदै आएको छ। नगर प्रहरीले मृतकको घरबाट चिस्यान सेवाका लागि फोन आउने बित्तिकै चिस्यान यन्त्र घरमै पुगाउने व्यवस्था मिलाइएको छ। नगर प्रहरीले चिस्यान यन्त्र लगेर जडान गर्ने र अन्तिम संस्कारका लागि लैजानुपूर्व शव निकालेर यन्त्र फिर्ता ल्याउने गरेको छ। शव चिस्यान सेवा नगरवासीलाई निःशुल्क प्रदान भइरहेको छ।

शव चिस्यान यन्त्रको व्यवस्था गरिएपछि विदेशमा रहेका व्यक्तिलाई आफन्तको अन्तिम संस्कारमा सहभागी हुन सहज भएको छ। उपमहानगरले नगर प्रहरीमार्फत मृतकको घरमै शव चिस्यान यन्त्र पुगाउने व्यवस्था मिलाएको छ। गत मंसिरबाट सुरु भयको शव चिस्यान सेवाबाट हालसम्म ९१ परिवारले सहयोग प्राप्त गरेका छन्। घरभन्दा टाढा तथा विदेशमा रहेका छोराछोरी र आफन्त आउन्जेल शवलाई चिस्यान यन्त्रमा राख्ने सेवा उपमहानगरपालिकाले निःशुल्क प्रदान गर्दै आएको हो।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस