सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विशेषज्ञ वडा क्लिनिक: दुई वर्षमा ९२ हजार ३४२ जनाको निःशुल्क उपचार

२०८१ साउन ३, ११:५८ कमल सावद

धनगढी : धनगढी उपमहानगरपालिकाले २ वर्षमा ९२ हजार तीन सय ४२ जना नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिएको छ। धनगढी उपमहानगरपालिकाले २०७९ श्रावण १ गतेदेखि २०८१ श्रावणसम्म ९२ हजार ३४२ जनालाई निःशुल्क उपचार सेवा दिएको हो। 

कैलालीको धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूमा विशेषज्ञ वडा क्लिनिक सञ्चालन हुँदै आएको छ। ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘धनगढी उपमहानगरपालिकाले ग्रामीण भेगमा स्वास्थ्य अवस्था, रोजगारी नभएकाले रोग च्याप्नु पर्ने, पैसाको अभावमा रोग च्याप्नुपर्ने छ। कुखुरा छ त औषधी छ, कुखुरा छैन, औषधी छैन।  जुन स्थिति थियो, त्योलाई मध्येनजर गरेर विशेषज्ञ वडा क्लिनिक सञ्चालन गरेको २ वर्ष पूरा भएको छ। हाम्रो सेवा तेस्रो वर्षमा प्रवेश गरेको छ। हालसम्म ९२ हजार तीन सय ४२ जनाले सेवा लिनु भएको छ।’

धनगढी उपमहानगरपालिकाले तालिका अनुसार सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग सेवा, आँखा जाँच सेवा, दन्त रोग उपचार सेवा, हाड जोर्नी तथा नसारोग उपचार सेवा, प्रयोगशाला सेवा, इसीजी सेवा, भिडिओ एक्सरे सेवा र गर्भवतीको स्वास्थ्य अवस्थाको परीक्षण सेवा दिने गरेको छ। नगर प्रमुख गोपाल हमालका अनुसार ६ हजार तीन सय ३६ महिला र २ हजार ६ सय २२ पुरुष गरेर आठ हजार नौ सय २९ जनाको रोगको पहिचान भएको छ। उनीहरूलाई थप उपचारका लागि रेफर गरिएको हो। 

धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूमा २ वर्षमा ४५ हजार तीन सय ५९ जनाले फिजिसियन सेवा, १७ हजार आठ सय ४८ जनाले स्त्री तथा प्रसूति सेवा, २६ हजार ६५ जनाले आँखा परीक्षण तथा उपचार सेवा, २ हजार नौ सय ६१ जनाले दन्त उपचार सेवा, एक सय नौ जनाले हाडजोर्नी सेवा, सात हजार ८५ जनाले प्रयोगशाला सेवा, चार हजार नौ सय ८० जनाले इसीजी सेवा, १० हजार चार सय ६ जनाले भिडिओ एक्सरे सेवा र नौ हजार २ सय ४९ गर्भवती महिलाले उपचार तथा स्वास्थ्य परीक्षण सेवा लिएका छन्। धनगढी उपमहानगरपालिकाको तथ्याङ्क अनुसार २ वर्षमा ७० वर्ष माथिका पाँच हजार चार सय ३७ जनाले सेवा लिएका छन्। 

धनगढी उपमहानगरपालिकाले फिजिसियन डाक्टर विकास रिजाल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सादरा गुरुङमार्फत स्वास्थ्य उपचार दिने गरेको छ। एक चिकित्सकको मासिक तलब सुविधाका लागि भाट–भटेनी सुपर मार्केटले सहयोग गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाको वडा क्लिनिकमा सवारी, सवारी चालक लगाएत ८/१० जनाको समूह प्रत्येक दिन ग्रामीण बस्तीहरूमा विशेषज्ञ वडा क्लिनिकसहित जाने गरेको हो। 

धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकका लागि आवश्यक औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र निजी औषधी व्यवसायी, आँखा सम्बन्धी रोगको उपचारमा गेटा आँखा अस्पताल र धनगढी नेत्रालय, प्रयोगशालाको जनशक्तिका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले सहयोग गर्दै आएको छ। निजी अस्पताल, औषधी व्यवसायी तथा विभिन्न संघ/संस्थाहरूको सहयोगमा विशेषज्ञ वडा क्लिनिक सञ्चालन गरिएको नगर प्रमुख हमालले बताए। ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारका लागि धनगढीले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस