दार्चुलाका व्यापारीको जम्बो टोली किन हिँडे ताक्लाकोट ?..
दार्चुलाः दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका २७ जना व्यापारीको टोली चीनको ताक्लाकोटका लागि हिँडेको छ।
चिनियाँ पक्षको आमन्त्रण पछि व्यापारीको टोली बुधवार त्यसतर्फ गएको हो। चिनिया पक्षले बिहीवार देखि नाका सुचारु गर्ने भनेपछि व्यापारीको टोली त्यसतर्फ प्रस्थान गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
औपचारिक रूपमै कार्यक्रम गरेर दुवै पक्षका अधिकारीहरूले नाका खोल्ने योजना असफल भएपछि अनौपचारिक रूपमै चिनियाँ पक्षको आग्रहमा व्यवसायी त्यसतर्फ प्रस्थान गरेका हुन। प्रमुख जिल्ला अधिकारी जोशीले बुधवार हिँडेका व्यवसायी बिहीवार ताक्लाकोट पुग्ने बताए।
व्यापारीहरूलाई चिनियाँ पक्षले प्रवेश दिएको खण्डमा औपचारिक रूपमै नाका खुला भएको मान्न सकिने उनले बताए। यसअघि चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरूको नामावली माग गरेको थियो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले ताक्लाकोट जानको लागि १८७ जनाको पास बनाएको जनाएको छ। कोरोना महामारीका कारण २०७६ सालदेखि तिंकर नाका बन्द रहेको छ। यसअघि दार्चुलाको तिंकर नाका सञ्चालनका लागि चीनको तिब्बत (बुराङकाउन्टी) का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएको थियो। दुई पक्षीय कुराकानीमा असार ११ गतेदेखि नाका सञ्चालन आउने भनिए पनि सुचारु हुन सकेको थिएन।