लर्ड बुद्ध एजुकेसन र धनगढीबीच शैक्षिक साझेदारी, धनगढीका विद्यार्थीलाई ४४ लाख बराबर छात्रवृत्ति दिने

धनगढीः दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ लर्ड बुद्ध एजुकेसन फाउडेसन (एलबीईएफ) र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक साझेदारी भएको छ।
धनगढीका युवालाई सूचना प्रविधियुक्त बनाउन यी संस्थाले हालै यस्तो साझेदारी गरेका हुन्। यस साझेदारी मार्फत कलेजले धनगढी उपमहानगरपालिकाका विद्यार्थीहरूलाई ४४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।
यसका साथै वार्षिक रूपमा ११÷१२ कक्षाका शिक्षकहरूलाई तालिमसमेत सञ्चालन गर्ने भएको छ। यसले विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्ने तथा वृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको कलेजले जनाएको छ।
त्यस्तै शिक्षक तालिममा नवीनतम् प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण लगायत विभिन्न क्षेत्र समेटिने छन् । यसले धनगढी उपमहानगरभित्रका युवालाई सूचना प्रविधियुक्त बनाउन समेत भूमिका खेल्ने बताइएको छ।

