सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

२०८१ असार ३१, ०६:१५ खबर संवाददाता

काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ सोमवार हुँदैछ। शपथ सोमवार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओली आइतवार प्रधानमन्त्रीमा नियुक्त हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रवार नै दाबी पेस गरेका थिए।

कमेन्ट लोड गर्नुस