सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीलाई गरियो पूर्ण खोप तथा दिगोपना सुनिश्चित जिल्ला

२०८१ असार ३०, ०९:१४ खबर संवाददाता

धनगढीः कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। आईतवार धनगढीमा जिल्ला पूर्ण खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कैलाली आयोजनामा एक कार्यक्रम गरी खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो।

जिल्लाको १३ वटै स्थानीय तहका ३६ हजार ९ सय १६ बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। जिल्लामा १६ देखि ५९ महिना सम्मका ३७ हजार ४ सय ६२ बालबालिकाहरुमा शून्य डोजको संख्या ११ र छुटका ४ सय ४८ जना बालबालिकाहरु रहेको खोप समन्वय समितिले जनाएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरल प्रमुख अतिथि रहेका थिए। उनले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए। त्यसका लागि खोपलाई सबैले प्राथमिकता राख्नुपर्ने सुझाए। आफ्नो प्रयास प्रदेशको स्वास्थ्यमा सुधार गर्नमा रहेको उनले बताए।

प्रदेशको स्वास्थ्य सुधार गर्नका लागि आगामि आर्थिक बर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाई रहेको थियो। स्वास्थ्यलाई स्वस्थ राख्नका लागि मानिसले एक घण्टा भए पनि समय दिनुपर्ने उनले सुझाए। उनले समय–समयमा हुने नेतृत्व परिवर्तनले गर्दा पनि समस्या भईरहेको बताए। ‘समय–समयमा नेतृत्वसंगै नीति फेरिन्छन’, उनले भने। ‘त्यसले गर्दा काम गर्न समस्या भईरहेको छ। यसमा सुधार गर्न आवश्यक छ।’

कार्यक्रमममा घोडाघोडी नगरपालिका मेयर खडकबहादुर रावतले खोप सुनिश्चिताका लागि सबैको मेहनत सह्रानीय रहेको बताए। उनले बसाईसराईका कारण कतिपय बालबालिकाहरु छुट्ने गरेको हुँदा यो चुनौतीको विषय रहेको औल्याए।

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशिसतोष श्रेष्ठले पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए। जिल्ला समन्वय समितिका संयोजक खगराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस