प्रधानमन्त्रीमा ओलीको नियुक्ति आइतवारमात्रै हुने
काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतवार मात्रै हुने भएको छ। ओलीले १६६ सांसदको समर्थनसहित शुक्रवार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतवार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ।
कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनबारे फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दावी पेस भएपछि अब नियुक्तिको विषय राष्ट्रपतिको भएको जनाए। यद्यपि आज भने नियुक्त हुन नसकेका उनले बताए।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढोका खुलेको थियो। प्रचण्डले राखेको विश्वासका मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो। संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।