सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लिक्मा मेलामा रङ मिसाइएको अखाद्य बस्तु फेला

२०८१ असार २७, ०४:१३ खबर संवाददाता

धनगढीः कैलालीको लिक्मा मेलामा रङ मिसाइएको अखाद्य बस्तु फेला परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–८ लिक्मामा सञ्चालनमा रहेको मेलामा रङ मिसावट गरिएको अखाद्य बस्तु बिक्री वितरण हुने गरेको पाइएको हो।

गौरीगंगा नगरपालिकाको बजार अनुगमन शाखाले मेला क्षेत्रको बुधवार अनुगमन गरेको थियो। अनुगमन शाखा प्रमुख लक्ष्मणराज जोशीले २५ किलोग्राम बर्फी, एक कट्टा भुजा लड्डु, रङ्गीन भुजा (ठुलो) ८ बोरा, चाउमिन भुजा एक कट्टा र एक पोका चटपट बरामद गरिएको बताए। उनले बिहिवार चौमालामा सबै बरामद गरिएको अखाद्य बस्तु नष्ट गरिएको उनले बताएका छन्। मेलाको अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, धनगढीका प्रतिनिधि हरिसिंह बोहराको सहभागिता रहेको थियो।

मेलाको अनुगमनमा नगर प्रमुख देविदत्त कडेल, उपप्रमुख भोजबहादुर बम, गौरीगंगा–८ का अध्यक्ष करुणा चौधरी, गौरीगंगा उद्योग वाणिज्य संघका अध्यक्ष खीमानन्द पौडेल, इलाका प्रहरी कार्यालय, मसुरियाका प्रमुख नरेश ढकाल, उपाध्यक्ष रोहित भाटसहित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। मेलामा रङ मिसावट गरिएका बस्तुको बिक्री वितरण हुन सक्ने भन्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले नगरपालिकालाई पत्राचार गरेको थियो। गौरीगंगा नगरपालिकाले मेला क्षेत्रमा सूचनासहितका बोर्डहरू राखेको थियो। मेला व्यवस्थापन समिति, वडाध्यक्ष, गौरीगंगा उद्योग वाणिज्य संघसँग छलफलसमेत गरेको थियो।

 

कमेन्ट लोड गर्नुस