शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना सुरु

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोपचरा (फिन्स विभर) को गणना सुरु गरिएको छ।
सङ्कटापन्न सूचीमा रहेको सो प्रजातिको चराको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्यका साथ गणना सुरु गरिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले गणना गर्न लागेको हो। बिसिएनले हरेक वर्ष यो निकुञ्जमा सुनौलो तोपचराको गणना गर्दै आएको छ।
यस निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, लालपानी, मोहनपुर, सिंहपुर, फाँटालगायत घाँसे मैदानमा सुनौलो तोपचरा पाइने गरेको छ। यसको सङ्ख्या अद्यावधिक गर्न गणना गरिने चराविद् हिरूलाल डङ्गौराले बताए। उनले नेपालको शुक्लाफाँटामा मात्रै पाइने सुनौलो तोपचराको सङ्ख्या कम हुँदै गएको जानकारी दिए।
गत वर्ष शुक्लाफाँटामा २११ वटा सुनौलो तोपचरा फेला परेका थिए। यसै गरी १२९ वटा सक्रिय र ८९ निष्क्रिय गुँड भेटिएको थियो। योभन्दा अघिल्लो वर्ष २४४ वटा सुनौलो तोपचरा अभिलेख गरिएको थियो। यस्तै १३९ वटा सक्रिय गुँड देखिएको थियो। बासस्थानमा आएको परिवर्तनका कारण उक्त प्रजातिका चराको सङ्ख्या घट्ने अवस्थामा रहेको बताइन्छ।
प्रजननको समयमा काग र चिबे प्रजातिका चराले सुनौलो तोपचराको अन्डा र बच्चा खाइदिने गरेको बताइन्छ। वैशाखदेखि जेठसम्म सुनौलो तोपचराले प्रजनन गर्नेे गर्छ। शुक्लाफाँटामा सन् १९९६ मा चरा विशेषज्ञ डाक्टर हेमसागर बरालले सुनौलो तोपचरा फेला पारेका थिए।

