सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे तत्काल राजीनामा दिन ‘इन्कार’

२०८१ असार २३, ०६:१० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा नदिने भएका छन्।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन्। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्। अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउनमा विश्वासको मत लिने सत्तारुढ दलका नेताहरुलाई जानकारी गराएका छन्।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको साथ चाहिन्छ। तर एमालेले समर्थन फिर्ता लिएकाले उनको बहुमत पुगाउने अवस्था देखिदैन।

प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ जना सासंद छन्। जुन सरकार गठनका लागि पर्याप्त संख्या हो। केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रदेश राजनीति पनि प्रभावित भएका बेला नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेका तर्फबाट बनेका मन्त्रीहरुले राजीनामा नै दिएका छन्।

मुख्यमन्त्रीको सचिवालयले भने सोडारीले तत्काल राजीनामा नदिने तर विश्वासको मत लिने जनाएको छ। त्यसका लागि मिति तय नभए पनि ३० दिनभित्र त्यस्तो प्रस्ताव संसदमा राखिने सचिवालयको दाबी छ। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने नयाँ सहमति बनेपछि त्यसको असर सुदूरपश्चिममा पनि परेको हो। तत्कालीन समयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिका २ प्रदेश सभा सदस्यसहित एक स्वतन्त्रको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीकोे नेतृत्वमा वैशाख ६ गते सरकार बनेको थियो।

कमेन्ट लोड गर्नुस