सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा पहिरो, कतै बस्ती डुबान त कतै सडक अवरुद्ध

२०८१ असार २३, ०९:५१ खबर संवाददाता

धनगढीः सुदूर पहाडमा ठाउँठाउँमा स–सानो पहिरोका कारण स्थानीय पीडित बन्न पुगेका छन्।

सेती नदीको बाढीले बझाङ थलारा गाउँपालिका–९ झ्याँबगर बस्ती दुई भँगालोको बिचमा पर्दा १४ परिवार विस्थापित भएका छन्। ‘गाउँको बीचमा भँगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ थलारा–९ का वडाध्यक्ष लोकेन्द्र विष्टले भने, ‘नदीको सतह बढेको बढ्यै छ। जुनसुकै बेला पनि बस्ती बगाउन सक्ने खतरा छ।’ बिहीबारदेखिको वर्षाका कारण सेतीको जलस्तर खतराको तहमा पुगेको छ।

जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेबसाइटले सेतीको जलसतह बढेर ४.२९ मिटर पुगेको जनाएको छ। शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जलसतह आइतबार विहानसम्म निरन्तर बढिरहेको छ। सेतीकै बाढीले केदारस्युँको पथुडामा दुईवटा पोल बगाउँदा बझाङमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

महाकाली नदीमा शनिबार साँझ जलस्तर १ लाख २१ हजार क्युसेक पुगेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन आवगमनमा रोक लगाएको छ। कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीका अनुसार महाकालीमा १ लाख क्युसेक बहाव नाघ्दा ठूला सवारीसाधन चल्न रोक लगाइन्छ।

लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ। बैतडीको पाटन नगरपालिका–९ को बिजयपुरभन्दा अगाडि सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेले बताए। सडक अवरुद्ध भएपछि यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन्। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

जयपृथ्वी नगरपालिका–७ मा पहिरो जाँदा शनिबार पनि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। शनिबार दिउँसो सूचारु भएको सडक पुनः पहिरो गएपछि अवरुद्ध भएको हो। सेती नदीमा बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। सेती नदीमा पानीको बहाव बढेपछि बैतडीको सिगास गाउँपालिका–५ ढुंगाड डुबानमा परेको छ।

बस्ती डुबानमा परेपछि स्थानीय शारदा माविमा बसाइँ सरेको शिक्षक इन्द्रबहादुर चन्दले बताए। सेती नदी किनारमा करिब ६० घरपरिवार बसोबास गर्दै आएकोमा १० भन्दा बढी परिवार घर छोडेर विद्यालयमा आश्रय लिन आएको उनले बताए। रातिको समयमा नदीमा बाढी आउन सक्ने भएकाले उनीहरु पशुचौपायासहित विद्यालयमा आश्रय लिएर बसेका छन्।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडे लगायतका बस्ती बाढीको उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढीले बझाङको थलारा गाउँपालिका–९ झ्याँबगर डुबानमा परेको छ। कञ्चनपुरमा महेन्द्रराजमार्ग अन्तर्गत सडकमा रुख ढल्दा सडक अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण रुख ढलेर सडक अवरुद्ध हुन पुगेको हो।

कमेन्ट लोड गर्नुस