सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कैलाली पुल–क्याम्पस चोक मुख्य सडकको आधा काम सकियो

२०८१ असार २१, ०६:३९ कमल सावद

धनगढीः कैलालीको धनगढीस्थित निर्माणाधीन मुख्य सडक निर्माणको काम आधा सकिएको छ। नाली, फुटपाथसहित कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सनबिच २०८० वैशाख २७ गते सम्झौता गरिएको सो सडक निर्माणको काम आधा सकिएको हो।

निर्माण कम्पनीले २०८२ वैशाख २६ गतेभित्र सो सडक निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता छ। सम्झौताको १४ महिनामा सडक निर्माणको आधा काम सकिएको छ। केएस कन्स्ट्रक्सनले सडकको नाली निर्माण, खाने पानीका पाइप विस्तार, विद्युत् लाइन विस्तार, दुईवटा कलभर्ट निर्माणको काम पुरा गरेको पूर्वाधार विकास कार्यालय, कैलालीका प्रमुख रामचन्द्र खत्रीले बताए। उनले भने, ‘भौतिक प्रगति ५० प्रतिशत पुरा भएको छ। भौतिक र आर्थिक प्रगति एकै साथ हुन्छ। जिल्ला प्रहरी कार्यालय तल सव–बेसको काम हुँदैछ। माथिको केही क्षेत्रमा बेसको काम हुँदैछ।’

प्रदेश सरकारको ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनले चार लेनको सडक निर्माण गर्दैछ। निर्माण कम्पनीले चालु आर्थिक वर्षमा मात्र २४ करोडको काम गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा १२ करोड बजेट विनियोजन गरेको थियो। विनियोजन गरिएको बजेट खर्च भएपछि थप १२ करोड बजेट माग गरेको थियो। थप गरिएको बजेटसमेत चालु आर्थिक वर्षभित्रै सकिएको छ। खत्रीले भने, ‘बजेट हामीसँग छ। १२ करोड सुरुमा थियो। १२ करोड थप गरेका हौ। २४ करोडको काम भएको छ।’

केएस कन्स्ट्रक्सनले २८ मिटरभित्र दुई मिटर नाली, ७÷७ मिटरको कालोपत्र सडक, डिभाइडरसहित स्मार्ट लाइटसमेत जडान गर्नुपर्ने सम्झौता छ। कम्पनीले नाली निर्माणको काम भने सकेको छ। दुईवटा कलभर्टको काम पनि सकिएको छ। सडक ग्राभेल, बेस तथा सव–बेस निर्माणको काम जारी छ। बर्सातको समयमा बेस, सव–बेसको काम गर्ने र असोजबाट कालोपत्रको काम सुरु गर्ने तयारी निर्माण कम्पनी छ। खत्रीले भने, ‘कैलाली पुल क्षेत्रमा पुरानो सडक कटिङको काम गर्दै छ। जिल्ला प्रशासन कार्यालय क्षेत्रमा पनि काम हुँदैछ।’ केएस कन्स्ट्रक्सनले २०८२ वैशाख २६ गतेभित्र मुख्य सडक निर्माणको काम सक्नुपर्ने हो। निर्माण कम्पनीले भने सम्झौता अवधिभन्दा पहिला नै काम सक्ने दाबी गर्दै आएको छ। अहिले सडक निर्माणमा बर्सातले समस्या गरेको छ।

बर्सातको पानीले ठाउँ–खाउँमा खाल्डो भएका छन्। खाल्डोका कारण सवारी सञ्चालनमा समस्या हुने गरेको छ। तर, पूर्वाधार कार्यालय, कैलालीले पानी जम्मा भएको क्षेत्रबाट निकास दिन भनेको छ। नाली फुटाएर भएपनि पानीको निकास दिने काम भएको खत्रीले बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस