सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

२०८१ असार २१, ०८:०८ खबर संवाददाता

काठमाडौँ: सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा  र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा तोकेको हो।

यस्तै, मन्त्रिपरिषद् बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमिकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लियरेन्स डिपो÷एकीकृत चेक पोष्ट र अरनिको राजमार्गको निर्माण तथा मर्मत सम्भारका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त पत्रहरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेका तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने बैठकले निर्णय गरेको छ।

कमेन्ट लोड गर्नुस