सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव

२०८१ असार २०, ११:५४

लन्डन: सन् १९४५ यता पहिलोपटक बेलायतमा जुलाई महिनामा चुनाव भइरहेको छ। आज अर्थात् जुलाई ४ मा हुने आम निर्वाचनमा लाखौं मतदाताले मतदान गर्नेछन्।

स्थानीय विद्यालय, सामुदायिक हललगायत भवनमा मतदान केन्द्र बनाइएको छ। मतदान बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म चल्नेछ। बेलायतमा चुनावबारे भएका सबै जनमत सर्वेक्षणमा लेबर पार्टीका उम्मेदवार कीर स्टार्मरले जित्ने देखाएको थियो। चुनावमा वर्तमान प्रधानमन्त्री तथा कन्जर्भेटिभ दलका उम्मेदवार ऋषि सुनकले निकै सशक्त प्रचार गरेको बताइए पनि त्यसबाट खासै फाइदा नहुने देखिएको छ।

४ करोड ६० लाख मतदाताले हाउस अफ कमन्सका ६५० जना सदस्यहरू चयन गर्न भोट दिनेछन्। प्रत्येक सिटको चुनावी नतिजा बिहीबार राति वा बढीमा शुक्रबार बिहानसम्म घोषणा हुनेछ। बेलायतमा सरकार बनाउन कुनै पनि दलले ३२६ सिट ल्याउनुपर्छ।

प्रधानमन्त्री ऋषि सुनकले मे महिनामा निर्वाचन घोषणा गरेका थिए। बेलायतमा हालैको सीमाङ्कनपछि निर्वाचन क्षेत्रको सिमाना परिवर्तन भएका छन्। अहिले बेलायतमा निर्वाचन क्षेत्र १० ले बढेर सिट ५ सय ४३ पुगेको छ । सीमाङ्कनपछिको यो पहिलो निर्वाचन हो। वेल्समा सिट सङ्ख्या ८ ले घटेर ३२ मा झरेको छ। स्कटल्याण्डमा पनि सिटको सङ्ख्या ५९ बाट ५७ सिटमा झरेको छ। उत्तरी आयरल्यान्डमा सिट सङ्ख्या १८ वटा छ।

कमेन्ट लोड गर्नुस