सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक युवक काठमाडौँमा मृत फेला

२०८१ असार २०, ११:०६ खबर संवाददाता

बैतडी: बैतडीका एक युवक काठमाडौँमा मृत फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका २४ वर्षीय गोविन्द बोहरा काठमाडौँमा मृत फेला परेका हुन्।

यही असार १५ गते साथीसँग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन्। प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको छ। स्थानीय निराजन बोहराले शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको बताए।

बोहरा मृत फेला परेपछि उनको हत्या भएको परिवारजनले आशंका गरेका छन्। मृतक बोहरा पछिल्लो ७ महिनादेखि काठमाडौँमा बसेर कोरियन भाषा सिक्दै आएका थिए। मृतक बोहरासँगै घुम्न गएका चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १  सर्मोलीका जगदिश बोहरा र सुरजकुमार बिष्ट कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ का नविन बोहरा र शुक्लाफाँटा १ का नरेश महरा रहेको काठमाडौँ प्रहरीले जनाएको छ। महरा र मृतक बोहरासँगै बस्दै आएका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस